- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। भारतको मुम्बईमा भएको आतङ्कवादी हमलाको स्मरणमा शुक्रवार काठमाडौंको माइतीघर मण्डलमा नेपाल स्वतन्त्र युवा समूहको अगुवाइमा प्रदर्शन भएको छ। २६ नोभेम्बर २००८मा मुम्बईको इतिहासमा सबैभन्दा ठुलो हमला भएको थियो। मुम्बई आक्रमणको १३ वर्ष भएको छ।
आतङ्कवाद विरुद्ध युवाहरूले नाराबाजी र प्लेकार्ड प्रदर्शन गरेका छन्। युवाहरूले पाकिस्तान विरुद्ध नाराबाजी र प्लेकार्ड प्रदर्शन गरेका छन्। लस्कर-ए-तोयबाले उक्त आक्रमणको जिम्मेवारी लिएको थियो। लस्करको उद्गमस्थल पाकिस्तानलाई मानिन्छ ।
मुम्बईको इतिहासकै सबैभन्दा ठुलो हमलामा १ सय ६० जनाभन्दा धेरैको ज्यान गयो, ३ सय जनाभन्दा धेरै घाइते भएका थिए । हमलाकारीले मुुम्बईका दुईवटा पाँचतारे होटेल, सिएसटी रेलवे स्टेशन, नरिमन हाउस र मेट्रो सिनेमासहित १२ ठाउँलाई निशाना बनाए ।
उक्त हमलाले नेपाल लगायत विश्व नै स्तब्ध भएको थियो। यस हमलाको विश्वव्यापी रूपमा निन्दा भएको थियो । तर, सुस्त रूपमा सुध्रिदैं गएको भारत–पाकिस्तान सम्बन्धमा यस घटनाले बैमनश्यता निम्तायो ।
घटनामा बाँचेका एकमात्रै व्यक्ति अजमल कसाब पाकिस्तानी थिए । आक्रमणकारीहरू पाकिस्तानबाट आएको र उनीहरूलाई सञ्चालन गर्ने व्यक्ति पाकिस्तानमै रहेको आरोप भारत सरकारले लगाएको थियो।
तत्कालीन भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले आफ्नो भौगोलिक अखण्डता कायम राख्नका लागि भारतले पाकिस्तानका आतङ्कवादी शिविरहरूमा आक्रमण गर्न सक्ने घोषणा गरेका थिए । यस घटनाको केही दिनभित्रै ( डिसेम्बर ७, २००८) लस्कर ए तोयबाका नेता तथा घटनाका योजनाकारमध्ये एक मानिएका जाकिउर रहमान लक्भी पाकिस्तानमा पक्राउ परे । यद्यपि, १० अप्रिल २०१५ मा उनी जमानतमा रिहा भएका थिए ।
बिहीबार जनकपुरमा राष्ट्रिय एकता अभियानको अगुवाइमा युवाहरूले मोटरसाइकल र्याली प्रदर्शन गरेका थिए । स्थानीय रेल्वे स्टेसनबाट निकालिएको मोटरसाइकल र्याली भानु चोक, शिव चोक, जनक चोक हुँदै जानकी मन्दिरमा गएर टुङ्गिएको थियो ।
--