arrow

लुम्बिनी प्रदेश: शाह भर्सेस पुन, प्यानलसहित उम्मेदवारी दर्ता

logo
नारायण वली,
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
bharat shah and amar sing pun.jpg

रुपन्देही । नेपाली कांग्रेसको १४ औं अभिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका लागि रुपन्देहीका भरतकुमार शाह र रोल्पाका अमर सिंह पुनबीच सभापतिमा कडा भिडन्त हुने भएको छ । शुक्रबार दुवै उम्मेदवारले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।

लुम्बिनी प्रदेशमा संस्थापन पक्षबाट सभापतिमा उम्मेदवारी दिएका शाह रुपन्देहीको क्षेत्र नम्बर ५ का लगातार ३ पटक चुनाव जितेर सांसद बनेका नेता हुन् । यता संस्थापन इतर पौडेल पक्षबाट उम्मेदवारी दिएका रोल्पाका अमरसिङ पुन रोल्पाका पूर्वजिल्ला सभापति हुन् । उनी पूर्व राज्यमन्त्री समेत भैसकेका छन् ।

जिल्ला तहको निर्वाचन सम्पन्न हुँदा लुम्बिनी प्रदेशमा रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ । तर दुवै पक्षले आफू बलियो भएको दाबी गर्दै आएका छन् । 

यस्तो छ शाहको प्यानल
शाहको प्यानलमा २ जना उपसभापति पदका लागि कपिलवस्तुका सुधाकर पाण्डे र दाङका राजु खनालले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा पनि २ वटा पदको लागि बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझीले उम्मेदवारी परेको दिएका छन् । 

सह– महामन्त्रीमा १ जना महिलासहित ३ जना पदको लागि रुपन्देहीकी सरिता चौधरी, बाँकेबाट माया पुन र बाँकेबाटै लक्ष्मीनारायण शाहले उम्मेदवारी मनोनयन पत्र पेश गरेका हुन् ।

यस्तो छ पुनको प्यानल 
संस्थापन इतर पुनको प्यानलबाट उपसभापति पदका लागि गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्टभुजा पाठकले उम्मेदवारी दिएका छन् । महामन्त्री पदको लागि पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्यले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोग रुपन्देहीले जनाएको छ। 

सहमहामन्त्रीका लागी प्यूठानकी निमा गिरी, अर्घाखाँचीका विष्णु खनाल ‘मुस्कान’ र दाङका खगराज पान्डेयले उम्मेदवारी दिएको बताइएको छ ।

उम्मेदवारी दिएका उम्मेदवारहरुले प्रचार प्रसारलाई तीव्र बनाएका छन् । सभापतिका उम्मेदवार अमरसिंह पुनले सबै जातजाति र भुगोल समेटेर पार्टीलाई सशक्त बनाउन तथा पार्टीलाई मजबुद बनाउनका लागि आफूलाई जिताऔं भन्ने अपिल गर्दै हिंडेका छन् । यता संस्थापन पक्षका भरत कुमार शाहले पनि मतदाताहरुलाई आफूलाई सही ढंगले मूल्यांकन गरेर प्रतिनिधिहरुले मत दिने अपेक्षा गरे । 
एउटै पार्टीबाट गुट बनाएर उम्मेदवारी दिए पनि मतदाताहरुले यसलाई स्वाभाविक भएको बताएका छन् । उनीहरुले कार्यकर्तालाई गुटउपगुट नभनी बाँडेर पार्टी र कार्यकर्तालाई कमजोर बनाउनेलाई भोट नदिने बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीमा शनिबार बिहान ८ बजे देखि मतदान गर्ने कार्यक्रम तय गरिएको छ । प्रदेशमा १ जना सभापति, २ उपसभापति, २ महामन्त्री, १ महिला सहित ३ सहमहामन्त्री गरि ८ जना पदाधिकारीमा चयन हुनेछन् ।

यस्तै प्रत्यक्ष सदस्यतर्फ जिल्लागत रुपमा १२ जिल्लाबाट १२ महिलासहित २४ जना र खुल्लामा ५ महिलासहित १७ जना, समावेसी सदस्यमा खस आर्यतर्फ ४ महिलासहित ८ जना, आदिवासी जनजातिमा २ महिलासहित ५ जना, मधेसीमा २ महिलासहित ४ जना, दलितमा २ महिलासहित ४ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित २ जना र अल्पसंख्यक वा अपाङ्गमध्ये १ जना गरी जम्मा ६९ जनाको कार्यसमिति बन्ने जनाइएको छ। लुम्बिनी प्रदेशमा प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधि गरी १ हजार ६ सय ४८ जना प्रतिनिधिहरु रहेको उल्लेख छ । 



नयाँ