- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कर्णाली । नेपाली कांग्रेसको कर्णाली प्रदेश कार्यसमितिको सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार जुम्लाका ललितजङ्ग शाही, कालिकोटका भुपेन्द्रजङ्ग शाही र मोतिराज बमले सभापति पदमा उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिँदा एकै जिल्लाबाट दुई जना परेका छन् ।
ललितजङ्ग संविधानसभाका सदस्य, भुपेन्द्रजङ्ग तरुण दलको महामन्त्री र बम महासमिति सदस्य हुन् । निर्वाचन समितिका सदस्य अधिवक्ता विवशकुमार बस्नेतले सभापतिसहित १२८ जनाको विभिन्न पदमा उम्मेदवारी परेको जानकारी दिए ।
उपसभापति पदमा कालीबहादुर सहकारी, सनतकुमारी कार्की, देवेन्द्रबहादुर शाही, तिलकबहादुर भण्डारी, महामन्त्रीमा नीरञ्जन केसी, कृष्णकुमार रोकाया, कृष्णबहादुर वीसी, खगेन्द्रबहादुर मल्ल, गोविन्दबहादुर कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् । सहमहामन्त्री पदमा पुरुषतर्फ उपेन्द्रबहादुर थापा, एकराज डांगी, नेत्रलाल पौडेल, जयनन्द उपाध्याय तथा महिलातर्फ रामछायाँकुमारी शाही र देविकाकुमारी साउद छन् ।
कांग्रेसको विधानमा प्रदेश उपसभापति दुई, महामन्त्री दुई र महिला र पुरुषतर्फ एक–एक सहमहामन्त्री हुने व्यवस्था छ । उक्त पदका लागि शनिबार मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
ललितजङ्ग संस्थापनबाट उम्मेदवारी दिएका हुन् । त्यस्तै भुपेन्द्रजङ्ग संस्थापन इतरका हुन् । उनी रामचन्द्र पौडेल पक्षका हुन् । कर्णालीका १० जिल्लामा ८ जिल्ला सभापति देउवा पक्षले जितेको छ । दुई जिल्ला सभापति पौडेल पक्षले जितेको छ । यो प्रदेशमा सिटौला पक्षको भने दरिलो उपस्थिति छैन ।
बम भने विमलेन्द्र निधी निकटका मानिन्छन् ।