arrow

बागमती प्रदेशको चुनावबारे भ्रमपूर्ण समाचारप्रति पौडेलको आपत्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
congress-bagmati-province-11.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बागमती प्रदेशको अधिवेशन चलिरहेको छ । नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपक्षीय भिडन्तमा संस्थापन तर्फबाट ईन्द्र बानियाँ, इतर पक्ष (रामचन्द्र पौडेल) बाट जगदीश्वरनरसिंह केसी र कृष्ण सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन् । 

शनिबार हेटौंडामा मतदानको कार्यक्रम रहेको छ । तर मतदान अगाडि नै केही मिडियामा पौडेल समूहका नेताहरुले आफ्नै समूहका नेतालाई मत नदिने भनी नाम उल्लेख नगरी समाचार आएपछि रामचन्द्र पौडेलको सचिवालयले भ्रमपूर्ण समाचार भन्दै आपत्ति जनाएको छ । 

सचिवालयले संस्थापन इतर पक्षबाट हरेक प्रदेशमा उम्मेदवार छान्नका लागि परामर्श टोली बनाइएको र उक्त टोलीले आकांक्षीहरुसँग छलफल गरी उपयुक्त उम्मेदवार छनोट गरेको भन्दै सबै सहमतिबाटै भएको स्पष्ट पारेको हो । 

बागमती प्रदेशको हकमा पनि सहमतिबाटै जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाइएको भन्दै पौडेलको सचिवालयले भ्रमपूर्ण समाचारको पछि नलागी कसैलाई द्धिविधा भए जिम्मेवारी पाएका नेताहरुसँग सम्पर्क गर्न समेत आग्रह गरेको छ । 

सचिवालयले चुनावको अन्तिम समयमा आएर कुनै पनि भ्रममा नपरी सहमतिअनुसार नै अगाडि बढ्न पनि आग्रह गरेको छ । 

रामचन्द्र पौडेलको सचिवालयले यसलाई एक प्रोपोगण्डामात्र भएको भन्दै यो हल्लाको पछि नलाग्नसमेत आग्रह गरेको छ । 

सचिवालयले आफूहरुको एकतालाई खल्बलाउने प्रयास भए पनि त्यस्तो पक्ष सफल नहुनेसमेत दाबी गरेको छ । 

बागमती प्रदेशमा त्रिपक्षीय भिडन्त हुँदैछ । यो भिडन्त निकै नै रोचक हुने अपेक्षा गरिएको छ । तर पहिलो चरणमै जित हारको नतिजा भने आउने सम्भावना भने नभएको बताइन्छ । 

आज मनोनयनको अन्तिम समयसम्म तीन जनाको उम्मेदवारी परेको हो । हेटौँडाको वन विज्ञान अध्ययन संस्थाको खेल मैदानमा बिहीबारबाट शुरु भएको अधिवेशन अन्तर्गत शनिबार बिहान ९ बजेदेखि मतदान शुरु हुने बताइएको छ ।

नयाँ नेतृत्वका लागि प्रदेश प्रतिनिधिको रूपमा १३ जिल्लाबाट चुनिएर आएका करिब दुई हजार १३७ जना प्रतिनिधिले भोट हाल्नेछन् । अधिवेशनले पार्टी प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ