arrow

पोखरा म्याराथन सफल बनाउन सरकारको साथ रहन्छ : मन्त्री गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
mantri swagat.jpg

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन सरकारको साथ रहने बताएका छन् । 

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा युवा तथा खेलकुद मन्त्री गुरुङ र प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङको सम्मानमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

सो अवसरमा मन्त्री गुरुङले पोखरालाई म्याराथनको माध्यमबाट विश्वमा चिनाउन पोखरा म्याराथनको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, “प्रदेश सरकार पोखरा म्याराथन सफल बनाउन पूर्णरुपमा सहयोग गर्न तयार छ ।”

मन्त्री गुरुङले अग्रज खेलाडीहरुले नेपालको खेलकुद विकासका लागि धेरै मेहनत गरेको स्मरण गरे । 

उनले भने, “यहाँहरु सवै अग्रज खेलाडीहरु हुनुहुन्छ, यहाँले आफ्नो समयमा देशका लागि धेरै पसिना बगाउनु भएको छ, यहाँहरुसंग भएको ज्ञान, शिप र क्षमता प्रदेशको खेलकुद विकासको लागि समर्पित गर्न आग्रह गर्छु ।” 

प्रदेशको खेलकुद विकासका लागि अग्रज खेलाडीहरुसँग एक साथ अघि बढ्ने प्रतिवद्धता जनाउँदै उनले पोखरा म्याराथनलाई सफल बनाउन आफूसँगै हातेमालो गर्न तयार रहेको बताए । 

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले अग्रज खेलाडीहरुको संस्थाबाट सम्मानित हुन पाउँदा आफूलाई निकै गौरव लागेको बताए । 

उनले भने–“पोखरा म्याराथनले पोखराको पर्यटन प्रवर्द्धनमा समेत उल्लेखनीय भूमिका खेलेको छ ।” 

खेलकुद जीवनको सफलताको आधार रहेको बताउँदै उपाध्यक्ष गुरुङले यसले समाजमा खेलकुद संस्कृतीको जर्गेना गर्न समेत भूमिका खेलेको स्पष्ट पारे ।

प्रदेश खेलकुदका सदस्य सचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले मञ्चले आफ्नो खेलकुद जिवनमा धेरै सिक्ने अवसर दिएको बताए । 

उनले गण्डकी प्रदेशको राजधानी पोखरा सँगै प्रदेशका ११ वटै जिल्लामा दौड आयोजनाका लागि प्रदेश खेलकुद परिषदले आफ्ना कार्यक्रम तय गरिसकेको बताए । 

गण्डकी प्रदेशलाई दौडको प्रदेशको रुपमा परिचित गराउने तर्फ परिषद अघि बढेको उनले बताए । 

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले १६ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी बारे जानकारी गराएका थिए । कार्यक्रममा मञ्चका द्वितीय उपाध्यक्ष खेम गुरुङ, महासचिव कृष्ण तिमिल्सिनाले पनि बोलेका थिए । 



नयाँ