- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा पीएसजीले क्लब ब्रुग्सलाई ४–१ गोल अन्तरले हराएको हो ।
पीएसजीलाई जिताउने क्रममा अर्जेन्टाइन स्टार लियोनल मेसी र फ्रेन्च यङ्ग स्टार केलियन एमबाप्पेले २–२ गोल गरे । पीएसजीले च्याम्पियन्स लिग जित्नकै लागि मेसीलाई ल्याएको बताइसकेको छ । त्यसको प्रमाण मेसीले दिइरहेका छन् ।
अर्कातर्फ सन् २०१८ को विश्वकपका सबैभन्दा चम्किला तारा एमबाप्पेले पनि दुई गोलसँगै रेकर्ड राखेका छन् । खेलको दोस्रो मिनेटमा एमबाप्पेले पहिलो तथा सातौं मिनेटमा दोस्रो गोल गर्दै टिमको अग्रता २–० को बनाउँदै रेकर्ड बनाए ।
उनले च्याम्पियन्स लिगमा ३० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका हुन् । ३८ औं मिनेटमा मेसीले पहिलो तथा ७६ औं मिनेटमा दोस्रो गोल गरे ।
ब्रुग्सका म्याट्स रिट्सले एक गोल फर्काए । उनले खेलको ६४ औं मिनेटमा गोल गरेका हुन् ।
जितसँगै समूह ए को पीएसजीले ६ खेलमा ११ अंक जोड्यो । पीएसजी समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
म्यानचेस्टर सिटी १२ अंकसहित शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको छ । अन्तिम खेलमा भने मंगलबार राति सिटी आरबी लेप्जिगसँग २–१ गोल अन्तरले पराजित भयो ।
७ अंकको लेप्जिग र ४ अंकको क्लब ब्राग बाहिरिएका छन् ।