arrow

कांग्रेस १४औं महाधिवेशन 

टिम बनाउँदै सिटौला : सातै प्रदेशबाट उम्मेदवार छानिंदै

logo
एम गौतम
प्रकाशित २०७८ मंसिर २३ बिहिबार
sitaula-samuha-sakti-pp.jpeg
फाइल फोटो

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलीबाट काठमाडौंमा शुरु हुँदै छ। कांग्रेस महाधिवेशनमा सभापतिका लागि हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, अर्का पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला अघि बढेका छन्।

संस्थापन समूहबाट देउवालाई निधिको चुनौती छ। इतर समूहमा पौडेल सर्वसम्मत हुने प्रयत्नमा छन्।

१३औं महाधिवेशनपछि स्थापित सिटौला समूहले भने महाधिवेशनमा सिंगो टिम नै तयार गर्दैछ।

सिटौला निकट नेता भीमसेनदास प्रधानले सातै प्रदेशबाट उम्मेदवार तय गर्ने काम भइरहेको र एक भोलीसम्ममा टिम नै घोषणा हुने बताए।

‘सातै प्रदशेबाट उम्मेदवार छान्ने काम भइरहेको छ, भोलीसम्ममा सिटौला जीको नेतृत्वमा टिम घोषणा हुन्छ,’ प्रधानले हाम्राकुरासँग भने।

सिटौला समूहबाट टिम बनाउनका लागि यूवा नेता प्रदीप पौडेल, नेताहरु शिवप्रसाद हुमागाइ, जीत शेरचन, गौरी दवाडी लगायत खटिएका छन्।

सो समूहबाट पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरिरहेको बताइन्छ। यस्तै हुमागाइले सहमहामन्त्रीमा तयारी गरिरहेका छन् । अन्य कोको उम्मेदवार हुने भन्नेबारेमा भने समूह भित्र छलफल भइरहेको छ।

यसैबीच नेता सिटौलाले आज बिहीबार दिउसो साढे २ बजे गौशालास्थित आफ्नो सम्पर्क कार्यालयमा महाधिवेशनबारे आफ्नो धारणा राख्दै छन्।

१३औं महाधिवेशनमा जस्तै १४औं महाधिवेशनमा पनि सिटौलाको कोर्टमा बल पुग्ने देखिएको छ। सोही कारण बुधबार वरिष्ठ नेता पौडेल सिटौलाको निवासमा सहयोग माग्दै पुगेका थिए।

यसैगरी संस्थापन समूह भित्र पनि सिटौलालाई मिलाएर अघि बढ्न सभापति देउवामाथि दबाब बढेको छ।

‘सिटौलाजीको भूमिका १३औं महाधिवेशनमा पनि निर्णायक रह्यो, अहिले पनि उहाँलाई मिलाएर अघि बढ्दा संस्थापन पक्ष पहिलो चरणको निर्वाचनमा नै जीत नजिक छ, यस कारण पनि उहाँलाई मिलाएर अघि बढ्न हामीले सभापति जीलाई सुझाएका छौं,’ देउवा समूहका एक नेताले भने।

देउवा समूहका नेताहरु प्रदेश अधिवेशनको परिणामलाई हेरेर पनि यो निश्कर्षमा पुग्न सभापतिलाई आग्रह गरिरहेका छन्।

कांग्रेस विधान अनुसार पहिलो चरणमा नै सभापति बन्न निर्वाचनमार्फत ५१ प्रतिशत मत ल्याउनु पर्छ।

कांग्रेसले बुधबार सार्वजनिक गरेको प्रारम्भिक मतदाता नामावली अनुसार कांग्रेसका सर्लाही बाहेकका ७६ जिल्लामा ४ हजार ३१९ प्रतिनिधि छन्। विदेशस्थित जनसम्पर्क समिति , भातृ तथा सुभेच्छुक संस्था र मनोनित हुन बाँकीसमेत गरी यो संख्या ४६ सय बढी हुन सक्छ।

कांग्रेसको १३ औं महाधिवेशनमा पहिलो चरणमा सभापतिमा देउवा, पौडेल र सिटौला भिडेका थिए। दोस्रो चरणमा भने देउवालाई सिटौलाको समर्थन थियो। त्यसबखत पहिलो चरणमा देउवाले १५ सय ६४, पौडेलले ११ सय ६० र सिटौलाले ३ सय २४ मत ल्याएका थिए।

दोस्रो चरणको प्रतिस्पर्धामा भने सिटौलाको सहयोगबाट देउवाले १८ सय २२ मत ल्याएर सभापतिमा निर्वाचित बन्दा पौडेलले १२ सय ९६ मत ल्याएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ