arrow

पूर्वराजा र पूर्व युवराज्ञीको कुनै फेसबुक–ट्विटर छैन, कहाँ अल्झे कमल थापा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
x-king-kamal-thapa.jpg
तस्बिर– फाइल

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ । पटक पटक सचिवालयले स्पष्ट पार्दैै आएको छ । कुनै विवादित विषय उठ्यो र पूर्वराजाको ट्वीटर अकाउन्टबाट सम्प्रेषित हुँदै आयो भने सचिवालय यसैगरी सूचना जारी गर्दै जानकारी गराउँदै आएको छ ।  

पूर्व राजाको सम्वाद सचिवालयले बिहीबार बेलुकी एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ । 

सूचनामा भनिएको छ, ‘मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन समेत अनुरोध गरिन्छ ।‘’

त्यस्तै पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने सूचनामा जनाइएको छ । यसरी पटक पटक आउने सूचना आफूहरुको नभएको उल्लेख गर्दै आए पनि अहिलेसम्म उक्त अकाउन्ट बन्द गर्नका लागि भने कुनै पहल नभएको बुझिन्छ । 

यही ट्वीटर र फेसबुकमा आएका सूचनाका आधारमा संचारमाध्यममा समाचार बन्दै आउँदा झनै अन्योल बढ्ने गरेको छ । 

कहाँ अल्झे कमल थापा ? 
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा यसपटक यिनै ट्वीटर अकाउन्टसँग जुध्दै आए । आफूले अध्यक्षमा चुनाव हारेपछि पूर्वराजपरिवारलाई तथानाम गाली गरे । आफूलाई हराउन दरबार लागेको आरोपसमेत लगाए । 

तीसबै गुनासो र आक्रोश उनले तिनै ट्वीटरमा पनि ट्याग गरे । तर पूर्वराजाको सचिवालयले पठाएको सूचनाले भने कमल थापा कोसँग अल्झिरहेका रहेछन् भन्ने स्पष्टै हुन्छ । 

त्यसो त उनी आफ्नै पार्टीकी नेतृ रेखा थापासँग पनि अल्झेका थिए । उनले आफ्नै नेतृलाई महामन्त्रीमा उम्मेदवारी दिँदा उडाइरहेका थिए । 

आफ्नै पार्टीका नेताहरुसँग जुध्दै जाँदा आफू भने लामो समयदेखिको विरासत खडा गरेका थापा अध्यक्षबाटै चिप्ले । 

आफू हारेपछि उनले पूर्वराजपरिवारलाई गाली गरे । उनले आफ्नो एजेन्डा नै राजसंस्था र हिन्दूधर्म नेपालमा पुनः स्थापित गराउने भएको भन्दै आफूलाई नै हराउन राजसंस्था लागेको उनको आरोप छ । 

तर कमल थापाले यो भुले कि अहिले कमल थापा भनेर चिनाउने त्यही राजसंस्था नै हो । राजसंस्थाले नै २०३४ सालमा कमल थापालाई नारायणी अञ्चलको गाउँफर्क अभियानको सचिव बनाएको थियो । 

२०३६ सालमा संविधान सुधार आयोगको सदस्य बनायो । त्यसपछि युवक संगठनको अध्यक्ष बने । 

राजसंस्थाले नै उनलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य बनायो । निरन्तर अगाडि बढ्दै जाँदा उनी यहाँसम्म आइपुगे त्यो सबै राजसंस्थाकै कृपा थिथो । तर तिनै थापाले राजसंस्था फाल्ने अन्य दलको निर्णयमा लालमोहर लगाइदिए । 

नेपाललाई गणतन्त्र घोषणा गर्दा रोएनन् । उनले सडकमा आन्दोलन गरेर कार्यकर्तालाई खटाएनन् । बस् कहिँ कतै झुण्ड देखाएर सांकेतिक विरोध गर्न लगाए । ताकि दरबारको माया पाइराखौं । आशीर्वाद पाइराखौं । 

उनले नेपालको गणतान्त्रिक संविजारी हुँदा पनि विश्वकै उत्कृष्ट संविधान भन्दै प्रतिक्रिया दिए । जसका कारण उनी गणतन्त्र सरकारमा पटक पटक मन्त्री भए । 

उनले राजसंस्थालाई धोका दिए । तर अहिले आएर राप्रपाका कार्यकर्ताले दिएको मतबाटै उनी पछारिए । र फेरि गाली गरे राजसंस्थालाई । 

कमल थापा ‘शून्य’ मा झरे । अब सम्भवतः पूर्वराजपरिवारले उनलाई साथ दिने छैन । चुनाव हारेपछि कार्यकर्ताको मतको कदर गरेको भए कति जाती हुन्थ्यो । 

यसबाट यो स्पष्टै भयो कि जुन संस्कारबाट उनी राजनीतिमा आए त्यही प्रतिक्रिया दिए । 

तर थापाले एउटा कुरा भुले कि नेपालमा गणतन्त्र नआएको भए सम्भवतः यति धेरै आलोचनासहित पूर्वराजालाई गाली गर्दा जेलमा कोचिन पनि सक्थे । 

स्रोतका अनुसार उनी गणतन्त्रवादी भएको र युरोपियन युनियनसँग लागेको दरबारले थाहा पाएपछि पूर्वराजा शाहले कमल थापालाई भेट नदिएको वर्षौं भइसकेको छ । र पनि आफूलाई पूर्वराजाको आशीर्वाद रहेको जहिल्यै बताउन छाडेनन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ