- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अखिल भारतीय कांग्रेस कमिटीका महासचिव मुकुल वस्निकले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना व्यक्त गर्ने अवसर पाएकोमा गौरवान्वित भएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डमा चलिरहेको छ । उक्त कार्यक्रममा बोल्दा आफू गौरवान्वित भएको वस्निकले बताएका हुन् ।
उनले भारतीय कांग्रेस र नेपाली कांग्रेसले एतिहासिक सम्बन्ध राख्ने भन्दै दुवै पार्टीका नेताहरुले सहकार्य गरेको चर्चा गरे । उनले भने, ‘एक अर्काका साझा हितका विषयहरु अगाडि बढाएका थिए । भारतले नेपालसँग सबैभन्दा गहिरो सम्बन्ध राख्छ । भारतले शान्ति र सधै स्थिरता चाहन्छ । र खुला सीमा र इतिहास, संस्कृति, भूमि आर्थिक र अन्य कुराहरुले नेपाल भारतको सम्बन्ध जारी छ ।’
उनले सम्बन्धको चर्चा गर्दै भारतले नेपालको शिक्षा, पूर्वाधार लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताए । उनले भारतीय कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई सन्देश सुनाउने क्रममा सोनिया यहाँ आएर बोल्न पाएको भए खुशी हुने थिइन् भने ।
उनले शुभकामना दिँदै भने, ‘नेपाल समृद्धिको यात्रामा अघि बढ्दै जाओस् यहाँ शान्ति, सम्भावना र लोकतन्त्रको मार्गमा अघि बढोस् । केही मनमुटाव भएपनि भाइचाराको सम्बन्धबाट त्यो सबै समस्या समाधान गर्न सक्छौं । भारतीय कांग्रेस भारत नेपालको सम्बन्ध अझै प्रगाढ बनाउन नेपालले राख्ने अपेक्षा पूरा गर्न काम गर्नेछ । जय नेपाल जय भारत ।’