arrow

गणेश रसिकले श्रीमतीको स्मृतिमा गरे कोष स्थापनाको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
ganesh-rasik.jpg

इलाम । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकले श्रीमतीको स्मृतिमा पुरस्कार कोष स्थापनाको घोषणा गरेका छन् । आफ्नी श्रीमती निरा शेरचन राईको ४५ दिनको पुण्य तिथिका अवसरमा उनले सो घोषणा गरेका हुन् ।

उनको सम्झनामा प्रदेश नं १ मा क्रियाशील पत्रकारलाई प्रदान गर्ने गरी रु २० हजार राशिको पुरस्कार घोषणा गरेको उनले बताए । रेडियो फिक्कल इलामका सञ्चालक समिति अध्यक्षसमेत रहेका रसिक हाल जन्मथलो भोजपुरमा छन् ।

समाजमा योगदान दिने पत्रकारहरू समाज परिवर्तनमा खटिइरहने भए पनि खासै मूल्याङ्कन नहुने गरेकाप्रति आफू चिन्तित रहेको जनाउँदै यस्तो पुरस्कार वितरण गरिएको उनले बताए । समाजका जो कोही व्यक्तिलाई सम्मान गर्नुपर्छ भन्ने धारणा रहेकी श्रीमतीको मृत्यु भएपछि उनकै सम्झनामा पत्रकारिता जगत्बाट समाजमा योगदान पुर्‍याउने मध्येबाट एक जनालाई हरेक वर्ष सम्मानसहित पुरस्कृत गरिने रसिक परिवारको भनाइ छ । 

समाजमा असल नियतका साथ योगदान दिने व्यक्तिमा प्रोत्साहन हुने ठानेर आफूहरू सो पुरस्कार स्थापना गर्ने मोडमा पुगेको छोरी निरजा राई प्रधानले बताए । नेपाल नाट्य तथा सङ्गीत प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव एवं रेडियो फिक्कलका अध्यक्षसमेत रहेका उनले राम्रो काम गर्नेलाई सधैँ हौसला प्रदान गर्नुपर्ने तथा सोही अनुसार आफूहरू लागिपरेको सुनाए । 

सो पुरस्कार हरेक वर्ष स्व निरा शेरचनको निधन भएको दिन कात्तिक १० गते प्रदान गरिनेछ तर यस वर्ष भने रेडियो फिक्कलको वार्षिक उत्सवका अवसरमा आगामी पुस १७ गते प्रदान गरिने जनाइएको छ । शेरचनको कोरोना सङ्क्रमणका कारण गत कात्तिक १० गते काठमाडौँमा निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ