arrow

कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २५ शनिबार
ajayababu-shiwakoti-congress-candidate.jpg

काठमाडौं । हाम्राकुरा डटकमका संस्थापक प्रधानसम्पादक अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । आफ्ना हितैषी महाधिवेशन प्रतिनिधिहरुसहित राष्ट्रिय सभागृहमा पुगेर शिवाकोटीले उम्मेदवारी दिएका हुन् । 

उनले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । दोलखा जिल्लाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएका शिवाकोटीले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । 

दुई दशक भन्दा बढी समय सक्रिय पत्रकारितामा बिताएका उनी २०६२–०६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबैभन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रुपमा चिनिन्थे । पछिल्लो समय तत्कालीन सभामुख कृष्णबहादुर महरा र तत्कालीन संचारमन्त्री गोकुल  बाँस्कोटाको विषयको समाचार ब्रेक गरेपछि चर्चामा रहँदै आएका छन् ।

अनुसन्धानमूलक एवं चुनौतीपूर्ण पत्रकारितामा बढी जोड दिएर सत्यतथ्य उजागर गर्दै आएका शिवाकोटीको रिपोर्टिङकै कारण एमाले नेता एवं तत्कालीन संचारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड रुपैयाँ घोटाला प्रकरण बाहिर आएको थियो । 

जुनसुकै माध्यमबाट भए पनि देश विकासका लागि समाजसेवामा अग्रसर भइरहने प्रण गरेका शिवाकोटीले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू संचार उद्यमीका रुपमा भने रहिरहने बताएका छन् । 

शिवाकोटीले महाधिवेशन प्रतिनिधिहरुलाई विवेक प्रयोग गरेर नेतृत्व चुन्नसमेत आग्रह गर्दै आफू महाधिवेशनपछि प्रेस युनियनसहित पत्रकारिताको राजनीतिमा नफर्कने पनि स्पष्ट पारेका छन् । उनी नेपाल प्रेस युनियनका महासचिवसमेत हुन् । 

शिवाकोटीले दोलखाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुअघि सबै समूहको साझा उम्मेदवारका रुपमा माया पाएको भन्दै केन्द्रको महाधिवेशनका लागिसमेत सबै शीर्ष नेतृत्वको समर्थन पाउने अपेक्षा राखेको बताएका छन् ।  



नयाँ