arrow

गोरखाको खोर्लामा घरैपिच्छे बिरामी, सकुशल रोग सर्ने डरले भागे

logo
प्रकाशित २०७३ साउन १४ शुक्रबार
jhada-pakhala.jpeg.jpeg
गोरखा । गोरखाको उहिया गाविसस्थित खोर्ला गाउँमा घरैपिच्छे बिरामी पर्नेको सङ्ख्या बढ्दै गएको छ । विगत दुई सातादेखि खोर्लामा फैलिएको झाडापखाला, ज्वरो तथा रुघाखोकीलगायत रोग नियन्त्रणमा नआउँदा भूकम्पपीडित स्थानीयवासी समस्यामा छन् । 
 
घरैपिच्छे बिरामी पर्नेहरु बढेपछि आफूलाई पनि रोग सर्ने डरले गाउँ छाडेको खोर्लाकी विपना गुरुङले बताइन् । घरमा दुई-तीन जनाको दरले मानिस बिरामी पर्दै आएको भए पनि बिरामीको स्वास्थ्य परीक्षण गरी उपचार गर्न नसकिएको गुरुङको भनाइ छ । 
 
उहिया वडा नं २ र ३ का ११६ घरधुरीका स्थानीयवासीमा झाडापखाला, ज्वरोलगायत समस्या देखिएको हो । उहिया र गुम्दास्थित माछाखोलका स्वास्थ्यकर्मीले बिरामीको उपचार गरे पनि झाडापखालाका बिरामी घटेका छैनन् । “स्वास्थ्यकर्मीहरु दुई दिन गाउँ बसेर फर्किए”, उनले भनिन्  – “बिरामी तङ्ग्रिएका छैनन् ।” स्थानीय शिक्षक छिरिङदोर्जे गुरुङले भूकम्पपछि अस्थायी शिविरमा बस्दै आएका भूकम्पपीडित रोग फैलिएपछि थला परेको बताए । 
 
“झाडापखाला, बान्ता लाग्ने, टाउको दुख्ने, रुघाखोकी र ज्वरोका बिरामी घरैपिच्छे छन्”, उनले भने  – “गाउँका स्वास्थ्यकर्मीले दिएको औषधिले बिरामीलाई निको भएन । बोकेर सदरमुकामको अस्पतालमा लैजान सक्ने अवस्था छैन ।” 
 
पहिरोले बाटो अवरुद्ध हुँदा वल्लोपल्लो गाउँ जाने अवस्था पनि नरहेको उनको भनाइ छ । गाउँले बिरामी परेकोबारे जिल्ला जनस्वास्थ्य कार्यालयमा धेरैपटक जानकारी गराए पनि उचित स्वास्थ्य सेवा नपाएको उनको गुनासो छ । आवश्यक औषधि लिएर स्वास्थ्यकर्मी गाउँमा आउनुपर्ने हो तर आएनन् । 
 
बिरामीले थलिएका मन्थल गुरुङ र सुन्दानी गुरुङको निधन भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीले बिरामी स्वास्थ्य संस्था नजाँदा समस्या आएको बताउछन्  । “सधैँ स्वास्थ्यकर्मी घर घर जान सक्दैनन्”, उनिहरुले भने  – “घर घर गएर बिरामीको उपचार गरेका छौँ ।” 
 
खोर्लागाउँबाट उहिया स्वास्थ्य चौकी जान एक घन्टा हिँड्नुपर्छ । बिरामीले गलेका गाउँलेहरु स्वास्थ्य संस्थामा जान नसक्ने गुरुङको भनाइ छ । भूकम्पपछि दूषित खानेपानीको प्रयोग गर्दा गाउँले बिरामी भएका हुन् । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ