arrow

रवीन्द्रले रञ्जु दर्शनालाई कारबाही गरेपछि सुरेन्द्रले पनि दिए बागमती प्रदेश भङ्ग गर्दै राजीनामा (पत्रसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
surendra-bahadur-ranabhat.jpg
बागमती सह–संयोजक सुरेन्द्रबहादुर रानाभाट

काठमाडौं । विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रले बागमती प्रदेश संयोजक रञ्जु दर्शनालाई कारबाही गरेका छन् । पार्टीमा लामो समयदेखि उनले ल्याएको दस्ताबेजमा विवाद चलिरहेको थियो । यही विवादबीच प्रदेश २ का संयोजक अनिमेषकुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय पूर्व संयोजक डा. राजेन्द्र पंगेनी, सचिवालय सदस्य प्रतिभा डङ्गोल, केन्द्रीय सदस्यहरू गरी करिब १०० जना नेता कार्यकर्ताले राजीनामा दिइसकेको छन् । 

यसैबीचमा विवेकशील साझा पार्टीको सबैभन्दा दरो सङ्गठन रहेको बागमती प्रदेशमा मिश्रको विचारभन्दा फरक मत राखेपछि बागमती संयोजक रञ्जु दर्शनालाई कारबाही गरेर बागमती सह–संयोजक सुरेन्द्रबहादुर रानाभाटलाई प्रदेशको बैठक बोलाएर नयाँ प्रदेश संयोजक चयन गर्न निर्देशन दिएको थियो । 

फरक मत राख्ने साथीहरूलाई गलत तरिकाबाट पार्टीबाट निष्काशन गर्ने काम गरेको, प्रदेश समितिसँग समन्वयन नगरी प्रदेश समितिमा हस्तक्षेप गरेको, नेताहरूको कार्यमूल्यांकन नगरी आफू खुशी नेताहरू चयन गरेको र पार्टीलाई गलत दिशामा लागेको भन्दै रानाभाटले आज पार्टी अध्यक्ष र संयोजकलाई राजीनामा बुझाएका हुन् । सहसंयोजक रानाभाटले प्रदेश समितिसमेत भङ्ग गरेका छन् ।

रानाभाट पार्टीमा निकै सक्रिय सङ्गठकका रूपमा परिचित छन् । पार्टीमा अधिकांशले साथ छाड्दै गर्दा यो घटनाले रवीन्द्र मिश्र पक्षलाई थप कमजोर बनाएको छ।

यस्तो छ रानाभाटको राजीनामा पत्र– 

राजीनामा पत्र–

विवेकशील साझा पार्टी 
बखुण्डोल ललितपुर 
अध्यक्षज्यू र संयोजकज्यू
                            बिषय– राजीनामा सम्बन्धमा 
महोदय ,
          आदरणीय अध्यक्ष र संयोजक ज्यू नमस्कार ! शुभप्रभात सु–स्वास्थ्यको कामना गर्दछु । हामी वैकल्पिक राजनीतिक यात्रामा लागेको त्यो छेडदेखि आजको दिनसम्म आइपुग्दा विभिन्न आरोह अवरोह पार गर्दै गति लिने प्रयासमा लागिरहेको कुराको स्मरण  गर्दै पार्टीले विश्वास गरेर दिइएको जिम्मेवारीलाई उत्साहका साथ निर्वाह गर्ने प्रयासमा लागि रहेँ। सदैव तपाईहरुको हौसलाप्रति नमन ब्यक्त गर्दछु । 

समय पनि कति छिटो बितेछ यो यात्रा पनि ५ वर्ष भएछ । तपाईहरुको अभिभावकत्वले गर्दा होला मलाई भर्खर ५ दिन जस्तो लाग्छ । हामी एउटा लक्ष्यका साथ यो राजनीतिक यात्रामा होमिएका थियौं । त्यो हो जनताको मुहारमा खुशी ल्याउने । अहिलेको व्यवस्था भित्रको बेथितिविरुद्ध मोर्चा बन्दी गर्ने अनि एउटा सुन्दर देश ,जहाँ स्वास्थ, शिक्षा अनि जनताको दैनिक जीवनमा खुशीयाली ल्याउने । हामी त्यो सपनाको लागि एकजुट भएका थियौं । दुर्भाग्यवश आज त्यो परिस्थितिको सामना गर्न हामी चुक्यौं कि भन्ने भान मलाई भएको छ। आदरणीय नेताज्यूहरु यसैको गम्भीरतालाई मध्यनजर गरी उक्त कार्य गर्न म पनि असफल भएको ठान्दछु ।

तसर्थ म अहिले जुन जिम्मेवारीमा छु आजका मितिदेखि पूर्ण होस हवासमा कसैको करकाप अनि प्रभावमा नपरी यो  राजीनामा तपाईहरु समक्ष दिएको छु। अबको मेरो यात्रा स्वतन्त्र र सचेत नागरिकको भूमिकामा रहने छु । सबिनय अनुरोधका साथ धन्यवाद ।

सुरेन्द्रबहादुर रानाभाट 
बागमती प्रदेश सह–संयोजक



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ