arrow

कांग्रेस प्रदेश २ अधिवेशनको सरगर्मी बढ्दो, निधीको साथ इतर पक्षलाई 

logo
निरंजनकुमार साह, 
प्रकाशित २०७८ पुष ६ मंगलबार
krishna-yadav-ramsaroj-yadav.jpg

जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ को प्रदेश अधिवेशन आजदेखि शुरु भएको छ । दुई दिने अधिवेशनले प्रदेशको नेतृत्व चयन गर्नेछ । पार्टीको १४ औं महाधिवेशनले नेतृत्व चयन गरिसकेको भए पनि प्रदेश २ को अधिवेशन हुन सकेको थिएन । 

यसअघि नै प्रदेश २ संयोजक रमेश रिजालले महाधिवेशनपछि अधिवेशन गर्ने निर्णय गरेका थिए । नेतृत्वका लागि दुई पक्षीय भिडन्त हुने देखिएको छ । यद्यपि नेताहरुले भने सहमतिको प्रयासमा लागिरहेको बताएका छन् । 

आकांक्षीहरु भने चुनावी प्रसारमा रहेका छन् । सभापति  शेरबहादुर देउवा अर्थात् संस्थापन पक्षबाट रौतहटका जिल्ला सभापति कृष्णप्रसाद यादवलाई अगाडि सारिएको छ भने संस्थापन इतर पक्षबाट डा. शेखर कोइराला र विमलेन्द्र निधीका तर्फबाट प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवलाई अगाडि सारिएको छ । 

रामसरोज यादव  प्रदेश २ सरकारमा दोस्रो वरियताका भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् । उता कृष्ण यादवले भने प्रदेश २ को नेतृत्व धनुषा बाहेक अरु जिल्लाले पाउनु पर्ने भन्दै प्रचारप्रसार गरिरहेका छन् । 

अधिवेशनका निर्वाचन अधिकृत प्रल्हाद गौतमले आज बिहान ११ बजेसम्म मनोनयनको समय रहेको भए पनि सर्लाही र महोत्तरी सहितका जिल्लाहरुबाट अझै अधिवेशन सकिएर मतदाताको अन्तिम नामावली नआएकाले मनोनयन प्रक्रिया सुरु गर्ने र साँझसम्म पनि नआए विवादितलाई छाडेर भोलि मतदान हुने जानकारी दिए ।

संस्थापनका उम्मेदवार कृष्ण यादवलाई गृहमन्त्री बालकृष्ण खाँण, सहमहामन्त्रीद्धय महेन्द्र यादव,  फर्मुला मंसुर तथा केन्द्रीय सदस्यद्धय आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल सक्रिय रहेका छन् । 

रामसरोज यादवलाई लाई सघाउन विमलेन्द्र निधीसमेत हिजै जनकपुरधाम आइपुगेका छन् । 

स्रोतका अनुसार निधी डा. शेखर कोइराला पक्षको सहयोगमा रामसरोजलाई प्रदेश सभापति बनाउन सक्रियता देखाएका छन् । केन्द्रमा सभापतिको निर्वाचनको दोस्रो चरणमा पहिलो चरणका उम्मेदवार निधीले कोइरालाालाई नभइ शेरबहादुर देउवालाई सघाएका थिए । 

प्रदेश २ मा आज बन्द सत्र हुने भएकाले शेखर कोइराला समूहका रामकृष्ण यादवसहितका नेतासँग छलफल भएको छ । कोइराला समूहले उपसभापति १, महामन्त्री १ र सहमहामन्त्री २ लिएर सहमति गर्न तयार भएको  छ । कोइराला समूहका एक नेता भन्छन्, ‘अहिले पद बाँडफाड भएको छैन । छलफल जारी छ । कुरा मिल्ने सम्भावना बलियो रहेको हो । 

अहिले जिल्लाका प्रतिनिधिहरुले नाम दर्ता गराइरहेका छन् । प्रदेश अधिवेशनका १ हजार ९ सय २०  जना प्रतिनिधि चयन भएका छन् । प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना प्रतिनिधि चयन भएका हुन् । प्रदेश २ को ८ जिल्लामा ६४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ