arrow

रामसरोज यादव र कृष्ण यादवले प्रदेश सभापतिमा दिए उम्मेदवारी

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ पुष ६ मंगलबार
ramsaroj-krishna.PNG

जनकपुर । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा रामसरोज यादव र कृष्ण यादवले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश २ को सभापतिका लागि प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहटका जिल्ला सभापति कृष्ण यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा रहेको मतदान स्थल पुगेर रामसरोज र कृष्णले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा उम्मेदवारी दिएका राम सरोजलाई नेता विमलेन्द्र निधि र कृष्णलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन रहेको छ ।

रामसरोजले आफू कुनै गुटबाट नभई नेपाली कांग्रेसबाट उम्मेदवारी दिएको बताए । उनले भने, ‘मलाई सबैको समर्थन रहेकोले मेरो जित सुनिश्चित रहेको छ। कांग्रेसभित्र गुट उपगुट समाप्त पारेर पार्टीलाई मजबुत बनाउनकै लागि मैले उम्मेदवारी दर्ता गराएको छु ।'

संस्थापन पक्षबाट कृष्ण यादवले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका छन् । उनको प्यानलबाट प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र उपेन्द्र यादवले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गराएपश्चात सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कृष्णले आफू निर्वाचित भए पार्टीलाई मजबुत बनाउने आफ्नो लक्ष्य रहेको बताए । उनले कांग्रेसका सबै नेता कार्यकर्तालाई साथ लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

सभापति उम्मेदवारका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ। निर्वाचनबाट प्रदेश सभापति, दुई उपसभापति, एक महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गर्नेछ । कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ