काँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
रासस,
प्रकाशित २०७८ पुष ८ बिहिबार
919
Shares
फाइल तस्बिर
जनकपुर। नेपाली काँग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदै छ। बुधवार नै मतदान हुने कार्य तालिका रहे पनि मतपत्र छपाइमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधवार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो।
जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान हुने कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए। सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन्।
संस्थापन पक्षले काँग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ।
कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन्। त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन्। प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको जनाइएको छ।