- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १४ औं संस्करणको हिसान स्पोर्टस मिट शुरु भएको छ ।
“स्वास्थ्य, भातृत्व र प्रतिभाका लागि खेलकुद” भन्ने नाराका साथ सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले गरे ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिताले युवा खेलाडीको उत्पादनमा टेवा पुग्ने बताए ।
प्रदेशको खेलकुद विकासका लागि हिसानसंग सहकार्य गरेर अघि बढ्ने भन्दै सदस्य सचिव गुरुङले खेलकुदका माध्यमबाट दिगो विकास लक्ष्य प्राप्तिका लागि खेलकुदको विकास अपरिहार्य रहने बताए ।
प्रतियोगिताका संयोजक डा. रामजी शर्माले हिसान स्पोर्टस मिटले राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका रहेको बताए ।
शिक्षासंगै खेलकुदको माध्यमबाट स्वस्थ्य, सवल, सक्षम र गतिशिल समाजको निर्माणका लागि हिसान स्पोर्टस मिट अघि बढेको भन्दै उनले प्रतियोगिताले समग्र खेलकुद विकासमा टेवा पुगेको बताए ।
हिसान कास्कीका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, राष्ट्रिय परिक्षा वोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णु नारायण श्रेष्ठ, हिसानका उपाध्यक्ष दिवाकर जैशी, सचिव ढाकाराम कंडेल लगायतले बोलेका थिए ।
तीन हजार विद्यार्थी प्रतिस्पर्धामा
प्रतियोगितामा भलिबल, टेबलटेनिस, ब्याडमिन्टन र बास्केटबलका गरी चार इभेन्टमा तीन हजार विद्यार्थीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिता अन्तर्गत बिहिबार चार वटै इभेन्टका खेलहरु भएका छन् । जसमध्ये ११ र १२ कक्षातर्फ छात्र/छात्रा भलिवलका १५ खेलहरु सम्पन्न भएको भलिवलका संयोजक खिम गुरुङले जानकारी दिए ।
छात्र भलिवलतर्फ न्यू ग्यालेक्सी, स्पाइरल ग्यालेक्सी, त्रिवेणी, केफ, रेन्वो, डायमन्ड, यूनिभर्सल र प्रतिभामावी पहिलो चरणमा आ-आफ्नो खेलमा विजेता बनेका छन् ।
यस्तै, छात्रातर्फ सम्पन्न सात खेलमा पोखरा मल्टीमोडल, माउन्ट अन्नपूर्ण, हिल पोइन्ट, न्यू ग्यालेक्सी, टप्स, पोखरा यूनाइटेड एकेडेमी र कास्की मोर्डनाइज्ड एकडेमी विजयी भएका छन् ।
यता, टेवलटेनिस विश्वविद्यालयतर्फ छात्र/छात्राका गरी २१ खेल सम्पन्न भएका छन् भने ११/१२ कक्षा सिंगल्सतर्फ छात्रा ३५ र छात्र ३२ गरी पहिलो चरणका ६७ खेल सम्पन्न भएको प्रतियोगिताका संयोजक पुरन कुंवरले जानकारी दिए ।
यसैगरी छात्र/छात्रा व्याडमिन्टनतर्फ प्लस टु लेभल छात्र/छात्रा सिंगल्समा १०५ खेल सम्पन्न भएको संयोजक टिकाराम पगेनीले जनाए ।
प्रतियोगितामा वास्केटबल प्लस टुतर्फ छात्रतर्फ मात्र खेल सम्पन्न भएका छन् ।
पहिलो चरणमा पोखरा सेकेण्डरी, कास्की मोर्डनाइज्ड, बाल कल्याण, न्यू लाइट, लिटिल स्टेप, टप्स, पश्चिमाञ्चल, सगरमाथा, प्रतिभा, स्टेप वाई स्टेप, भाष्कर मेमोरियल, न्यू ग्यालेक्सी, माउन्ट अन्नपूर्ण, मनकामना, केफ, रेन्वो एकेडेमिक आआफ्नो खेल जित्दै दोश्रो चरणमा प्रवेश गरेको बास्केबलका संयोजक पुष्पराज पराजुलीले बताए ।