arrow

पोखरामा नाटक लेखन कार्यशाला सकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
Natak.jpg

पोखरा । पोखरामा आयोजित ११ दिने नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । 

गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजना तथा पोखरा थिएटरसँगको सहकार्यमा पौष १ गतेबाट सुरु भएको कार्यशालामा आठ जना प्रशिक्षार्थी सहभागी  बनेका थिए । कार्यशालाको सहजीकरण निर्देशक खगेन्द्र लामिछानेले गरेका थिए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा भएको कार्यशाला समापन समारोहमा बोल्दै कुलपति बिखर्चीले गण्डकी प्रज्ञा प्रतिष्ठानले निरन्तर रूपमा यस्ता कार्यशालाको आयोजना गर्ने बताए । 

पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आगामी दिनमा समेत प्रतिष्ठानले नाट्य क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता जनाए ।

अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले कार्यशालामा सहभागी प्रशिक्षार्थीको सिकाइप्रतिको लगाव तारिफयोग्य रहेको बताए । 

पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक लेखन कार्यशाला वार्षिकरुपमा सञ्चालन गर्ने बताए । यस्ता कार्यशालाले युवा नाटककार उत्पादन गर्न सघाउने उनको विश्वास छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले नाटक लेखन कार्यशालामा सहभागीको उत्साह तथा प्रशिक्षकको सहजीकरण गर्ने शैलीबाट प्रभावित भएको सुनाए ।

कार्यशालामा सहभागी रीता ज्ञवालीले कार्यशालाले नाटक लेख्ने जोश बढेको बताए । नाटक लेख्ने प्रोसेसको बारेमा नयाँ ज्ञान थपिएकोले नाटक लेखनमा निखारता थपिने उनको विश्वास छ । 

अर्का सहभागी शरद भण्डारीले जीवनका सबै भन्दा प्रभावकारी कार्यशालाको रूपमा ११ दिने नाटक लेखन कार्यशाला रहेको बताए ।कार्यशालामार्फत ज्ञानका कारण नियमित नाटक लेखनमा ऊर्जा थपिएको सुनाए ।

कार्यशालामा सहभागी हुनेमा गुल्मीकी रीता ज्ञवाली, झापाकी गीता बुढा क्षेत्री, सङ्खुवासभाकी पत्रिका घिमिरे, हुम्लाका नरेन्द्र बुढाथोकी, कास्कीका शरद भण्डारी, दर्शन कुँवर, अजय जिसी र रोशनी श्रेष्ठ रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

देशभरबाट आवेदन दिन मिल्ने गरी खुला रूपमा आवेदन खुलाइएकोमा आवेदन दिने मध्येबाट आठ जनालाई छनोट गरी कार्यशालामा सहभागी गराइएको कार्यशालाका संयोजक एवं गण्डकी प्रज्ञा प्रतिष्ठानका सङ्गीत नाट्य तथा संस्कृति विभाग प्रमुख सुरेन्द्र गुरुङले जानकारी दिए ।

पोखरा थिएटरको गन्धर्व नाटक घरमा आयोजना भएको समापन समारोहमा स्वागत पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्ण प्रसाद भण्डारी र सञ्चालन गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कृष्ण प्रसाद पौडेलले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ