काठमाडौँ । साहित्यकार सुमी लोहनीले अनुसिर्जन गरेको ‘अष्टावक्र महागीतामृत’ (अध्यात्म तथा अद्वैत वेदान्त दर्शन) कृति सार्वजनिक भएको छ ।
साहित्यमा निरन्तर खटिएकी लोहनीको उक्त कृति ओशो तपोवनमा, ओशो तपोवनद्वारा आयोजना गरिएको विशेष एवम् भव्य समारोहमा लोकार्पण गरिएको हो ।
बोधिसत्व स्वामी आनन्द अरुण, साझा प्रकाशनका अध्यक्ष शेखर गिरी तथा अनुसर्जक सुमी लोहनीले संयुक्त रूपमा सो कृतिको लोकार्पण गरेका हुन् ।
मुख्य वक्ता स्वामी आनन्द अरुणले ओशोले सन् १९७४ मा आफ्ना निकटस्थ १८ जना साधकबीच अष्टावक्र गीताको चर्चा गरेको र त्यसलाई विलक्षण र दुर्लभ ग्रन्थको रूपमा स्वीकार गर्नुका साथै सो ग्रन्थ जनकपुरको माटोमा जन्मिएको कारण त्यसको प्रवद्र्धनमा हामी बढी संवेदनशील हुनुपर्ने बताए ।
उनले ओशोले राजा जनकलाई प्रभावित र वैराग्य प्रदान गर्नसक्ने अष्टावक्र गीतामा जम्मा २९८ श्लोक मात्र भए पनि ती श्लोकमा असाधारण अर्थ र प्रभाव रहेको तथा पहिलो २० श्लोकले नै राजा जनकलाई आफ्नो प्रभावमा लिन सक्षम भएको बताएको, अष्टावक्रबारे असङ्ख्य प्रवचन गरेको, सो प्रवचनका ६ वटा ग्रन्थ तयार भएको स्मरण गरे ।
उनले आपूmले जनकपुरमा अष्टावक्र मन्दिर बनाउन पहल गरेको र अष्टावक्र गीतालाई राष्ट्रिय कृति धोषणा गराउनका लागि निरन्तर लागिरहेको पनि जानकारी दिए ।
कार्यक्रमको आरम्भमा अनुसर्जक लोहनीले कृति रचनागर्भका बारेमा प्रकाश पार्दै आपूmले कोरोनाको विशिष्ट कालमा अष्टावक्र महागीता पढी सोबाट प्रभावित भएर आमपाठकलाई लाभ हुने गरी अनुसिर्जन गरिएको बताइन् ।
मन्तव्यकै क्रममा साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले अष्टावक्र गीताका बोरमा आफ्नो विचार व्यक्त गरे ।
लोकार्पित कृतिको विशद समीक्षा गर्दै डा। रमा भट्टराईले आमपाठकका लागि कृति उपयोगी हुने, महिला लेखक भएकीले उपेक्षित गर्न नहुने र आत्मबोधका सन्दर्भमा कृति सदैव उपयोगी रहेको दाबी गरिन् ।
कार्यक्रममा सुमी लोहनीका शिष्य डा। अनन्त अर्यालले अष्टावक्र महागीता ध्यान तथा सेवाभावसहित पठन हुन सके बुझ्न सकिने धारणा राख्दै सो गीताका बारेमा स्वामी रवि शङ्करले समेत सकारात्मक चर्चा गरेको प्रसङ्ग स्मरण गरे ।
साझा प्रकाशनबाट प्रकाशित ११२ पृष्ठको अष्टावक्र महागीतामृतको मूल्य २४० रुपैयाँ रहेको छ ।