arrow

'नयाँ प्रतिबन्ध लगाउनु ठूलो गल्ती हुने' भन्दै पुटिनले दिए बाइडेनलाई चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
bidenputin-putin-biden.jpg

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार फोन वार्ता भएको छ । युक्रेनी सीमामाथि रुसले लाखौँको सङ्ख्यामा सेना लगेर आक्रमणको योजना बनाएको चिन्ताकाबीच डिसेम्बरमा दोस्रो पटक बाइडेन र पुटिनबीच कुराकानी भएको हो ।

यस पटक अर्थात् हिजोको वार्ताका लागि पुटिनले नै आग्रह गरेका थिए भने, यसअघि डिसेम्बर ७ मा पनि बाइडेन र पुटिनबीच वार्ता भएको थियो । युक्रेनमाथि तनावकै विषयलाई लिएर करिब दुई सातापछि अमेरिकी र रुसी कूटनीतिज्ञहरूबिच जेनेभामा वार्ता हुँदै छ । 

बिहीबार झन्डै ५० मिनेट भएको कुराकानीका क्रममा बाइडेनले सेना फिर्ता गर्नका लागि रुससँग दुई वटा मार्ग रहेको भनेका छन् ।

कूटनीतिक वार्तामार्फत या आर्थिक प्रतिबन्ध, नेटोको पूर्वी भागमा सेनाको बाक्लो उपस्थिति र युक्रेनलाई थप साहयता प्रदान गर्ने मध्ये एक विकल्पमार्फत रुसले सेना फिर्ता गर्नुपर्ने बाइडेनको भनाइ थियो ।

कुनबाट रोज्ने भन्ने कुरा रुसको जिम्मा रहेको र यदि आक्रामकता अघि बढाएमा कडा परिणामको सामना गर्नुपर्ने अमेरिकी अधिकारीहरूको भनाइ छ ।

यसबीच पुटिनले भने, थप आर्थिक प्रतिबन्ध अघि सारेमा यो ठूलो गल्ती हुन जाने र दुई देशबीचको सम्बन्ध पूर्णरुपमा बिग्रिने कडा चेतावनी दिएका छन् । 'विगत ३० वर्षमा यस्ता धेरै गल्तीहरू भएका छन्,'रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले भने,'र त्यस्ता गल्तीहरू फेरि नगर्नु उचित हुन्छ।'

बाइडेनले पुटिनलाई अमेरिकाले युक्रेनमा आपत्तिजनक हतियार तैनाथ गर्ने योजना नभएको बताएको उशाकोभले भनेका छन् ।

रुसले युक्रेनी सीमाबाट सेना हटाउने काम गरेपछि मात्रै वार्तामा थप उपलब्धि हुने ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले बताएकी छन् ।

यस्तै बिहीबारेको वार्तामा पनि रुसले युक्रेनमाथि थप आक्रमण गरेमा अमेरिका, उसका सहयोगी र साझेदारहरूले निर्णायक जवाफ दिने कुरालाई बाइडेनले थप स्पष्ट पारेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ