- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । सर्लाहीको बयलवासमा पाँच दिनअघि प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारले आज शव बुझेका छन् । गत बुधबार लालबन्दीमा भएको सहमतिअनुसार बिहीबार मृतकका परिवार शव बुझ्न मलंगवा पुगे पनि त्यसै फर्किएका थिए ।
आज भने मृतकका परिवारले शव बुझेर परम्परा अनुसार दाहसंस्कार गरेका छन्। आज जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मृतकका परिवारले जाहेरी दिहेर शव बुझेका हुन् । बयलवास बजारमा गएको मंगलबार दिउँसो ३ बजेदेखि नै निरन्तर निषेधाज्ञा जारी रहेकोमा शुक्रबार परिवारले शव बझेपछि हटाउने तयारी गरेको छ ।
बिहीबार मात्रै बयलवास घटनाबारे छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले समिति गठन गरिएको छ । २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरले २ नं प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण ढल्केबर, धनुषाका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा २ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवार, २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका प्रहरी निरीक्षक गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सर्इ) प्रेमकुमार साह र सङ्घीय प्रहरी एकाई कार्यालय जनकपुरधाम, धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोदकुमार साह सदस्य रहेका छन् ।
समितिलाई उक्त दुर्घटनाको सम्बन्धमा वास्तविक सत्य तथ्य बुझेर अभिलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । गएको आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका–७, स्थित नगरपालिका कार्यालय नजिकै गस्तीमा रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको भ्यानले ठक्कर दिँदा ना ४३ प ५०१८ मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका ५, सखुबनी खुबलाल टोलका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।
बुधबार लालबन्दीमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीबीच भएको छलफलबाट घटनाको सम्बन्धमा अनुसन्धान गर्न समिति गठन गर्ने, मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने लगायत छ बुँदे सहमति भएको थियो ।
बुधबारको सहमति अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले बिहीबार पीडित परिवारलाई १० लाख रुपियाँ राहत उपलब्ध गराइदिन माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।