नेपालमै कोरोना विरुद्धको तेस्रो डोज लगाउन शुरु, यी समूहमा पर्नेले लगाउन पाउने छन् पहिले
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
1.1k
Shares
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको तेस्रो डोज अथवा थप अतिरिक्त डोज लगाउन शुरु गरेको छ । विभिन्न देशहरूमा बुस्टर डोज भनेर दिइँदै आएको खोपको थप मात्रा सरकारले नेपालमा पनि दिन शुरु गरेको हो ।
तेस्रो डोज लगाउनका लागि सरकारले जोखिमपूर्ण अवस्थाका ६ समूहहरू तोकेको छ । यस्तै खोपको तेस्रो अथवा अतिरिक्त मात्रा लगाउन पूर्ण खोप लगाएको कम्तीमा तीन महिना पुगेको हुनुपर्ने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मध्यम र गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका, सक्रिय क्यान्सरका रोगीहरू, अङ्ग प्रत्यारोपण गरेको बिरामीहरू, एचआइभी भएका बिरामीहरूले तेस्रो मात्रा लगाउन पाउने छन् ।
यस्तै, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि प्रयोग गरिरहेका र सिनो फार्म या भेरोसेल खोप लगाएका ६० वर्षमाथिका नागरिकहरूले पनि तेस्रो मात्रा लगाउन पाउने छन् ।
मन्त्रालयले पहिले जुन खोप लगाएको हो सोही खोपको तेस्रो मात्रा लगाउन आग्रह गरेको छ । लक्षित समूहमा पर्ने व्यक्तिले नजिकको स्वास्थ्य संस्थामा गएर तेस्रो मात्रा लगाउन सक्नेछन् ।