- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारीहरु विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले अस्पताल प्रशासनको एचआर कार्यालयमा तालाबन्दी गरेका छन् ।
साथै उनीहरुले अझै पनि आफूहरुका जायज मागका विषयमा अस्पताल प्रशासन गम्भीर नभए विरोधका कार्यक्रम बढाउँदै लैजाने चेतावनी दिएका छन् । अस्पतालका कर्मचारी संवद्ध तीन वटै संघसंस्थाले संयुक्तरुपमा आन्दोलन शुरु गरेका हुन् ।
प्रशासनको एचआर कार्यालयमा ताला लगाएर तीन वटै संघसंस्थाले संयुक्त रुपमा विज्ञप्ति निकालेर आफूहरुका समस्याका विषयमा जानकारी गराएका छन् ।
मणिपाल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारी, मणिपाल कर्मचारी युनियन समन्वय समितिका अध्यक्ष जीवन थापा, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अमृत पौडेल, अखिल नेपाल स्वास्थ्यकर्मी संघका कार्यवाहक अध्यक्ष नरेशकुमार श्रेष्ठले संयुक्तरुपमा विज्ञप्ति जारी गरेका हुन् ।
अस्पताल व्यवस्थापन र कर्मचारी युनियन बीचको सम्झौता कार्यान्वयन नभएको, श्रम कार्यालयको निर्देशन पनि अस्पताल व्यवस्थापनले अटेर गरेको, श्रम ऐन अनुसार अस्थायी कर्मचारीलाई स्थायी नगरेको, सुत्केरी बिदा नदिई तलब कटौती गरेको, कर्मचारीलाई जोखिमपूर्ण ढंगले काममा लगाएको जस्ता आरोप लगाएका छन् ।
उनीहरुले तालावन्दी गर्नु आफूहरुको बाध्यता भएको उल्लेख गरेका छन् । मणिपाल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीका अनुसार २०७७ फागुनदेखि कर्मचारीका तलव वृद्धि भएको छैन ।
अस्पतालप्रति भण्डारीको आरोप छ, ‘अस्पताल प्रशासनले पटक पटक झुट बोलेको छ । करिब आठ वर्षदेखि कर्मचारी स्थायी हुनबाट रोकिएको छ । कोरोना कहरमा खटिएका कर्मचारीले पाउनुपर्ने सेवा सुविधा पाएका छैनन् ।
५५० शैय्याको अस्तालमा हुनुपर्ने जति कर्मचारी छैनन् । स्वास्थ्य बीमा कार्यक्रमको सुविधा लिएको तर बिरामीबाट पनि यो वा त्यो बाहनामा अशुल गरिरहेको छ । नेपालको कानून लत्याउँदै सेवाग्राहीबाट रकम अशुलिरहेको छ ।’