arrow

एड्सले खुसी लुटेपछि लक्ष्मीको परिवार बिचल्ली

logo
रामबहादुर थापा,
प्रकाशित २०७३ साउन १७ सोमबार
hiv-curt.jpg.jpeg
बागलुङ। महिना दिनयता लक्ष्मी रोकायका आँखा ओभाना छैनन् । मनमा बेचैनी छ । रोकायको खुसी असमयमै लुटिएको छ । जिउने आशा कमजोर बनेको छ । 
 
चालिस वर्षीय श्रीमान् करण रोकाय परिवारको आड–भरोसा थिए । करणकै दैनिक ज्याला–मजदुरीले परिवार धानिँदै आएको थियो । करण श्रीमती लक्ष्मी, ८ वर्षीया छोरी सरस्वती, ६ वर्षीय सम्झना र नवजात छोरा डिलबहादुरको सहारा थिए । 
 
एचआइभी एड्सका कारण गत असार २२ गते करणको निधन भएपछि परिवार बिचल्लीमा परेको छ । सङ्घर्षको आँधीबेहरी सहेर बाँचिरहेको परिवारमा आज समयले बज्रपात निम्ताएको छ । परिवार सहाराविहीन भएको छ । कैलाली, गैँडाखाँडा–७ का करण १५ वर्षअघि कामको खोजीमा बागलुङ आएका थिए । पछि बागलुङकै मालिका– ७ की लक्ष्मी रोकायसँग विवाह गरी बागलुङ सदरमुकाममै डेरा गरी बस्दै आए  ।
 
एड्सको पहिचान भएको दुई महिनामै करणको मृत्यु भएको हो । लक्ष्मी रोकायका अनुसार उनि बेला-बेला बिरामी पर्ने गरेपनि एड्सको परीक्षण गरिएको थिएन । नराम्रोसँग थला पर्न थालेपछि पोखरामा उपचारका क्रममा करणलाई एड्स भएको पत्ता लागेको थियो । ‘अन्तिम समयमा उनलाई निकै गाह्रो भएको थियो, शरीरमा टिभी पनि देखिएको थियो,’ लक्ष्मीले भनिन् – ‘पहिले नै एचआइभी सङ्क्रमण भएको थाहा पाएको भए उपचार हुने थियो होला ।’ करणको शव अन्त्येष्टि गर्ने समेत कोही नभएपछि बागलुङ नगरपालिकासँग सहयोग लिएर कालिगण्डकी तिरमा गाडिएको थियो ।
 
 लक्ष्मीसँग अहिले दुई छोरीसहित दुई महिने छोरा छन् । एड्सकै कारण श्रीमान्‌को मृत्यु भएपछि यसअघि बस्दै आएको घरबेटीले लक्ष्मीको परिवारलाई घरबाट निकालेका थिए । अहिले उनको परिवार बागलुङ नगरपालिका–३ बसपार्कस्थित प्रेमबहादुर खड्काको घरमा डेरा गरी बस्दै आएको छ । 
 
लक्ष्मीलाई अहिले स–साना छोरीछोरीको लालनपालन कसरी गर्ने भन्ने समस्याले पिरोलेको छ । दुबै छोरी कालिका कन्या उमाविको कक्षा २ मा पढ्छन् । उनीहरुलाई लुगा, कापीकलम र खाजा खर्च जुटाउन लक्ष्मीसँग कुनै उपाय छैन । ‘काम–धन्दामा जान पनि काखमा दुई महिनो छोरा छ, मैले छोराछोरीलाई कसरी पाल्ने, कसरी पढाउने ?,’ लक्ष्मीले भनिन्  – ‘मलाई जस्तो कसैलाई नपरोस् ।’ 
 
लक्ष्मीको बिग्रँदो अवस्था देखेपछि बागलुङ नगरपालिका –३ चिप्लेटी नागरिक सचेतना केन्द्रका महिलाले रु २० हजार सङ्कलन गरेर लक्ष्मीको दैनिक गुजारा चलाउन सहायता गरेका छन् । 
 
बागलुङ नपा–३ कि समुन बास्कोटा र बागलुङ नपा–२ की पुष्पा श्रेष्ठले लक्ष्मीको सहयोगका लागि विशेष पहल गरेका थिए । ‘लक्ष्मीको श्रीमान्‌लाई एड्स लागेको भन्ने थाहा भएपछि घरबेटीले निकाले, पछि कोठा पाउन पनि समस्या भयो,’ सुमन बास्कोटाले भने  – ‘पछि बल्लबल्ल एउटा कोठा खोजेर राखेका छौँ ।’ 
 
दुई महिने सुत्केरी अवस्थाकी लक्ष्मीको अवस्था कठिन अवस्थामा पुगेको उनको भनाइ छ । कैलालीमा रहेको परिवारले कुनै वास्ता नगरेको लक्ष्मीले बताइन् । करण सानैमा भारतको बम्बईमा जागिरको लागि गएको र त्यतैबाट बागलुङ आएको उनको भनाइ छ । वर्षौंसम्म घरपरिवारसँग करणको सम्पर्क थिएन । लक्ष्मी पनि विवाहित घर कैलाली एकपटक पनि गएकि छैनन् । 
 
‘कैलालीमा रहेको घरपरिवारमा कुनै सम्पर्क पनि छैन, प्रहरीबाट सम्पर्क पत्ता लागेपनि कोही आएनन् ,’ लक्ष्मीले भनिन् – ‘माइतीबाट भेट्न आउछन् । सहयोग पनि गरे ।’ श्रीमान्‌को  एड्सकै कारण मृत्यु भए पनि लक्ष्मीको पहिलो जाँचमा एचआइभी सङ्क्रमण देखिएको छैन । दुई छोरीमध्ये एक जनामा भने सङ्क्रमण देखिएको छ । दुई महिने छोरामा भने अहिले नै जाँच-पत्ता लगाउन नसक्ने चिकित्सकले बताएका छन् ।
 
बागलुङमा रहेको आइएनएफ पालुवा केन्द्रमा लक्ष्मी र छोरीहरुको एचआइभी परीक्षण गरिएको थियो । सङ्क्रमित छोरीलाई उपचार सुरु गर्नेबारे परामर्श भइरहेको लक्ष्मीकी सहयोगी महिला स्वास्थ्य स्वमय्सेविका पुष्पा श्रेष्ठले बताइन् । करणले बम्बईबाट फर्कंदैमा एचआइभीको सङ्क्रमण बोकेर आएको हुनसक्ने अनुमान गरिएको श्रेष्ठले बताए । बिचल्लीमा परेकी लक्ष्मी र बच्चाको संरक्षणमा कसैले चासो नदेखाएपछि आफूहरुले सक्दो प्रयास गरेको उनको भनाइ छ । 
 
श्रेष्ठले भने  – ‘काखमा शिशु भएकाले सुत्केरी अवस्थाकी लक्ष्मीलाई विशेष स्याहारसुसार र पौष्टिक आहारको आवश्यकता खट्किएको छ ।’ सरकारी, गैरसरकारी निकायबाट सहाराविहीन परिवारका लागि कुनै सहयोग हुनसकेको छैन । लक्ष्मीको दैनिकी झन्झन् दुःखको दलदलमा फस्दै गएको छ । ‘छोरा हुर्किएपछि काममा जाने थिएँ, अहिले त्यो पनि छैन, कसरी जीवन धान्ने हो ?’ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ