arrow

विवादरहित बन्दै आयल निगमको कार्यकारी निर्देशकबाट बिदा भए पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
surendra-kumar-poudel-noc.jpg
तस्बिर– फाइल

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल बिदा भएका छन् । तीन वर्षअघि २०७५ साल पुस २३ गते मन्त्रिपरिषद् बैठकले प्रबन्ध निर्देशकमा नियुक्त गरेका उनीे विवादरहित पहिचान बनाउँदै आज बिदा भएका हुन् । 

उनले आफ्नो तीन वर्षे कार्यकालमा अहम् काम गरेका छन् । उनले आफ्नो कार्यकालमा गरेका कामबारे हाम्राकुरासँग भने, ‘अन्तर्राष्ट्रिय बजारको घट्दो र बढ्दो ट्रेन्टलाई सन्तुलित गर्ने, राजस्वको हिसाबलाई आफ्नो लागतमा सन्तुलित मूल्य गर्ने, कोरोनाको महामारीमा सबै क्षेत्र ठप्प भएका बेलामा अत्यावश्यकीय पेट्रोलियम पदार्थको सहज आपूर्ति डिजेड, मट्टितेल, पेट्रोल, ग्याँस भारतबाट ल्याउनेदेखि सहज आपूर्तिका लागि त्यसको व्यवस्थापन, पेट्रोलियम पदार्थ आपूर्तिमा कुनै गुनासो नभएको र व्यवसायीदेखि लिएर कर्मचारीसम्ममा सुशासनको अनुभूति दलाउने कार्य, पेट्रोलियम पाइपलाइनको सफल कार्य, दुई देशबीचको सम्बन्ध सुधारको कोषेढुङ्गा, त्यसैगरी पूर्वाधारका विषयहरुमा अव्यवस्थित पार्किङ, आफ्ना जग्गाहरुको सदुपयोग, दुई ठूला परियोजनाको अन्तिम रुपमा पुग्नु र पेट्रोलियम पदार्थमा जथाभावी व्यवसायीहरु थपेर व्यवसायीहरुको मर्यादा विरुप पार्ने गतिविधिहरु जुन पहिले थिए (चाहिए भन्दा बढी ट्यांकरहरु थप्ने, पेट्रोलियम डिपो दिने र व्यवसायीहरुको भविष्य नै अन्योल गराउने) त्यस्ता कार्यहरु न्यूनिकरण गरिएको छ । सम्भव भएसम्म कमसेकम विवादमा रहेर आफ्नो कार्यकाल सम्पन्न गरेको रुपमा लिएको छु ।’

उनले तीन वर्षअघि कामको शुरुआत विराटनगरबाट गरेका थिए ।  आज अन्तिम दिनको हाजिरी धनगढी कार्यालयबाट गरेका छन् । यसअघिका कार्यकारीहरु विवादमा पर्ने गरेकामा पौडेल भने व्यक्तिगत रुपमा विवादमा परेनन् । उनले यसलाई सबैभन्दा ठूलो पुरस्कारको रुपमा लिएका छन् । 

उनले आयल निगमबाट बिदा भएको जानकारी सामाजिक संजाल फेसबुकबाट दिने क्रममा आफ्नो कामको मूल्यांकन गर्ने जिम्मा भने इतिहासलाई छाड्दै लेखेका छन्, ‘नेपालमा अत्यावश्यक इन्धन आपूर्तिको एकमात्र निकाय नेपाल आयल निगमको कार्यकारी निर्देशकको रुपमा आफ्नो सक्रिय तीन वर्षे कार्यकाल केबल निगम र समस्त उपभोक्ताको सर्वतोमुखी हितलाई अर्जुन दृष्टि र अभिष्ट बनाउँदै आउने क्रमले आजबाट बिट मारेको छ । २०७५ साल पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले मलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । पदीय गरिमा जोगाउने क्रममा निगमको हितलाई सर्वोपरि ठानी मेरो ज्ञान र बुद्धिले भ्याएसम्म अहोरात्र खटिरहेँ । यस क्रममा नेपालको इन्धन आपूर्तिको सरल र बक्र दुवै गहिराइका तीता मीठा अनुभूतिसहित उपभोक्ता र निगमको श्रीवृद्धिका निम्ति आफूले कति सहजीकरण गर्न सकेँ या सकिन यसको समग्र मूल्याङ्कन इतिहासलाई छाडेको छु ।’ 

उनी पाएको जिम्मेवारीपछि पाएको सद्भावप्रति अनुगृहीत हुने क्रममा लेखेका छन्, ‘समग्र इन्धन आपूर्तिको सम्वेदनशील निकाय निगमको नेतृत्वका लागि मलाई योग्यतम ठानेर विश्वास गर्नु हुने तत्कालीन प्रधानमन्त्रीज्यू र उहाँको नेतृत्वको मन्त्रिपरिषद्का साथै निरन्तर साथ, सहयोग र भरोसा गर्नुहुने वर्तमान प्रधानमन्त्रीज्यू र मन्त्रिपरिषदका साथै इन्धन आपूर्तिमा अहोरात्र खटिने मेरा सहकर्मी साथै मजदूर साथीहरु, निगमको विवशता र सम्वेदनशीलता बुझेर सात्विक सूचना सम्प्रेषण गरीदिनु हुने प्रबुद्ध पत्रकार साथीहरु, व्यवसाय र मुनाफा भन्दा माथि उठेर सेवाभावले लाग्नु हुने समस्त इन्धन र ग्याँसका आपूर्तिकर्ता साथीहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।’

जाँदा जाँदै उनले सरकारलाई सुझावसमेत दिएका छन् । उनले लेखेका छन्, ‘विश्वब्यापी बहावका स्वभाविक असर स्वरुप प्रयुक्त मूल्यवृद्धिलाई सस्तो बजार, हल्ला र राजनैतिक विषय बन्न नदिन मूल्यवृद्धिमा अल्झेको चुनौतीलाई कर सामान्यीकरण गर्दै वर्तमान सरकारलाई यथासीघ्र समाधान खोज्न सुझावसहित अत्यावश्यक समग्र इन्धन र ग्याँस आपूर्तिको नवीन चुनौतीलाई सफलतम मार्गका निम्ति पछिल्लो नेतृत्वलाई शुभकामना दिँदै बिदा चाहन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ