- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले १६ जिल्लाको अधिवेशन रोक्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।
नेपाल प्रेस युनियन बाँके शाखाले शुक्रबार नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा पुनले राष्ट्रियसभाको चुनावलाई देखाउँदै अधिवेशन रोकिएपनि यसकै कारण अधिवेशन रोक्नुपर्ने अवस्था नरहेको बताए ।
‘अधिवेशन रोक्नुपर्ने कुनै कारण थिएन, किन रोकियो त्यो पार्टीको नेतृत्वले जान्ने कुरा हो,’उनले भने, ‘पार्टीको जीवन्तताका लागि बेलैमा अधिवेशन हुनुपर्छ ।’ ‘राष्ट्रियसभाका भोटर भनेका स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्य हुन्, यसमा धेरै समस्या थिएन, अधिवेशन रोक्नैपर्ने अवस्था थिएन,’ पुनले भने । पुष २७ गतेका लागि तय भएको बाँकेसहित १६ जिल्लाको अधिवेशन राष्ट्रियसभा चुनावको कारण भन्दै माघ १५ गते सारिएको छ ।
पत्रकार सम्मेलनमा पुनले पार्टीलाई विधि विधान सम्मत चलाउँदै न्यायोचित निर्णय लिएर अघि बढ्न केन्द्रीय सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । ‘लुम्बिनी प्रदेश कमिटीका तर्फबाट मेरो विशेष आग्रह छ, सभापतिजीले सिंगो कांग्रेसको सभापति बन्न पर्यत्न गर्नुपर्छ, सकेसम्म सबैलाई समेटेर अघि बढ्न पर्यत्न गर्नुपर्छ’, उनले भने । डा.शेखर कोइरालालाई बरिष्ठ नेता भनेर सम्बोधन गरेका सभापति पुनले सभापति देउवाले सबैलाई समेटेर लैजान पर्यत्न गर्नुपर्नेमा जोड दिए ।
उनले भने,‘हिजो पोखरा महाधिवेशनमा गिरिजाबाबुसंग ठूलो मतान्तरले अहिलेका सभापतिले हार्दा पनि जुन स्थान उहाँले चाहनुभयो त्यो पाउनुभयो, तर, आज किन त्यस्तो हुन सकेन’, उनले थपे, ‘२० २२ भोट पाएर सभापतिमा हारेकालाई केन्द्रीय सदस्य मनोनयन गर्ने तर १५र१६ सय मत पाउने किन परेनन्, यस्तो किन भयो ?’ आफूहरुले कुनै हिस्सा नमाग्ने भन्दै उनले पार्टीभित्र न्याय हुनुपर्ने बताएका छन् । लुम्बिनीमा आफूसंग पराजित सभापतिका उम्मेदवारलाई दोस्रो बरियतामा राखेर अघि बढेको प्रसंग निकाल्दै उनले सभापति देउबाले पनि सबैलाई समेट्नुपर्ने बताए ।
लुम्बिनी कांग्रेसलाई चलायमान बनाउँदै अघि बढ्न चार बर्षे कार्ययोजना बनाउँदै गरेको बताएका पुनले हिजो पार्टी कहाँ थियो र आज कहाँ छ भन्ने कुराको प्रष्ट अनुभूति हुने गरी काम गर्ने स्पष्ट पारे ।
महामन्त्री विक्रम खनालको संयोजकत्वमा कार्ययोजना बनाउन शुरु गरिएको सभापति पुनले बताए । स्थानीय चुनावमा लोकप्रिय र इमान्दार मानिसहरु पहिलो प्राथमिकतामा पर्ने बताउँदै उनले पार्टीमा धनबाद र डनबादको अन्त्य गर्ने दृढता व्यक्त गरे ।
प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा बाँके पार्टी सभापति किरण कोइराला, राष्ट्रियसभाका उम्मेदवार युवराज शर्मा, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, प्रदेश कमिटी सदस्यहरु टेकनारायण भुषाल, प्रेम केसी, परमेश्वरी पाठक, दिक्षा कोइराला, अन्जना पाण्डे, कृष्णा सापकोटा चौधरीलगायत उपस्थित थिए ।