arrow

प्रविधिमैन्त्री बन्दै विद्युत प्राधिकरण ठिमी वितरण केन्द्र, इन्जिनियर पौडेलले गरे नौलो शुरुवात

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
rohini-poudel.jpg

भक्तपुर । सरकारी कार्यालय र तिनका संयन्त्रहरु प्रविधिमैन्त्री नहुँदा सेवाग्राहीले सास्ती ब्यवहोरेको गुनासो आइरहँदा केही सरकारी कार्यालय तथा संस्थानहरुले भने आफुलाई अब्बल तथा उदाहरणीय प्रमाणित गर्दै आएका छन्। भक्तपुरको नेपाल विद्युत प्राधिकरण, ठिमी वितरण केन्द्र त्यसमध्येको एक उदाहरण हो ।

ठिमी वितरण केन्द्रले शुरु गरेको मोबाइल एप र अन्य प्रविधिले ग्राहकहरुलाई राहत मिलेको छ । प्रमुख इन्जिनियर रोहिणी पौडेलले आफु यस केन्द्रमा सरुवा भएर आएदेखि नै सेवाग्राही जनतालाई संस्थागत व्यवस्थापन तथा नविन प्रविधि मार्फत युग सुहाउँदो सेवा प्रदान गर्न हरेक पक्षमा यथाशक्य सुधारको प्रयत्न गरिरहेको बताए ।

हालैमात्र ठिमी वितरण केन्द्रले सेवाग्राहीको सुविधा तथा आफ्नो गुणस्तरीय सेवा सुनिश्चित गर्न ‘ठिमी विद्युत’ मोबाइल एपमार्फत सेवा सुचारु गरेको छ। एण्ड्रोइड तथा आईओएस दुबै प्लेटफर्ममा उपलब्ध यस एपमार्फत सेवाग्राहीहरुले त्यस कार्यालयबाट उपलब्ध सबै सेवा सुविधाको प्रष्ट जानकारी लिन सक्ने छन्। साथै आफ्नो विद्युत महशुलबारे आफ्नै एपमार्फत जानकारी लिन र भुक्तानी समेत गर्न सक्ने छन्।

कार्यालयको सेवा, विद्युत संरचना र लाईनबारे प्रष्ट जानकारी लिनुका साथै सो सम्बन्धी केही गुनासो भएमा एपमार्फत नै गुनासो सम्बन्धित निकायमा पुर्याउने र त्यसको सुनुवाई भए नभएको तथा कार्यप्रगतिबारे समेत मोबाइलबाट नै सम्पूर्ण जानकारी लिन सकिने गरि एपको निर्माण गरिएको केन्द्र प्रमुख ई.पौडेलले बताए ।

नेपाल जस्तो विकासमा फड्को मार्दै गरेको र भर्खरै संरचनाहरु बन्दै गरेको मुलुकमा चौबिसै घण्टा विद्युत पूर्ण रुपमा सुनिश्चित गर्न विभिन्न आकस्मीक खराबीहरुको कारण नसकिने भएपनि सो को समयमै सही सूचना प्रवाह गरिदिनु प्राधिकरणको दायित्व भएको उनको भनाइ छ ।

कहाँ, के कारणले बिजुली गयो र कति समयमा बनिसक्छ भन्ने जानकारी नो लाईटमा फोन गरेर पनि लिन सकिन्छ भने त्यसैबेला धेरै सेवाग्रहीको फोनका कारण फोन व्यस्त हुने समस्या समेत हुने भएकाले मोबाइल एपमै हेरेर सम्पुर्ण जानकारी लिन सकिने इन्जिनियर पौडेलले बताए ।

जनताको सेवकको रुपमा आफूले काम गर्ने वाचा गरेर सेवा प्रवेश गरेपछि सार्वजनिक निकायबाट प्रदान गरिने सेवाहरु जनताको लागि सहज र पारदर्शी हुनुपर्ने उनको भनाइ छ । पौडेलले यसअघि पनि आफुले काम गरेको ठाउँमा आफुलाई अब्बल प्रमाणित गरेको दाबी गर्छन ।

बाग्लुङ्ग वितरण केन्द्रको केन्द्र प्रमुख हुँदा नै सम्भवत नेपालका सार्वजनिक सेवाप्रदायक हरुमध्ये पहिलो पटक मोबाइल एपमार्फत सेवा प्रदान गर्न ‘बाग्लुङ्ग विद्युत’एप सञ्चालनमा ल्याएका पौडेल ‘नेपाल विद्युत प्राधिकरणको उत्कृष्ट कर्मचारी प्रोत्साही पुरस्कार २०७२ बाट सम्मानित भइसकेका छन् ।

यसअघि सिमरा वितरण केन्द्रमा कार्यरत रहँदा समेत सेवाग्राहीको लागि सुविधासम्पन्न अत्याधुनिक काउन्टर निर्माण गरि सेवा दिएर प्रसंसा पाएका थिए। सार्वजनिक निकायहरु जनताप्रति थप जवाफदेही बन्दै जानुपर्ने साथ साथै नविन प्रविधिलाई अवलम्वन गर्दै जनताको सेवालाई छरितो र पारदर्शि बनाउँदै लैजानुपर्ने उनले बताए ।

ठिमी वितरण केन्द्रका सेवाग्राहीले सेवा प्रवाहको नयाँ शैलीले आफूहरुलाई निकै सुविधा पुगेको साथै सार्वजनिक निकायप्रतिको आम दृष्टिकोण नै सकारात्मक बन्न पुगेको प्रतिक्रिया दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ