arrow

माघे संक्रान्तिको दिनमै दुई पटक काल बेला, कस्तो होला समग्रमा दिन ?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७८ माघ १ शनिबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

आज मिति २०७८ माघ १ गते शनिबार, इस्वीसंवत जनवरी १५ तारिक सन् २०२२, श्रीशाके १९४३, नेपाल संवत् ११४२, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको द्धादशी तिथि रहनेछ । आज नक्षत्रमा मृगशिरा विष्कुम्भादि योगमा ब्रहम, करणमा कौलव र आनन्दादि योगमा वज्र रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा वृष राशिमा रहनेछ । आज दिनमान २६ घटि १८ पला अर्थात १० घण्टा ३५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ५८ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः२७ बजे हुनेछ । आज माघे संक्रान्ति/ मकर संक्रान्ति/घ्यू, चाकु खाने दिन/मकर स्नान आरम्भ ।

आजको राशिफल

मेष : समय शुभ रहनेछ । विशेष अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पछिसम्म फाइदा हुने काम हातलागी हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । 

वृष : समय अत्यन्तै खराब छ । विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला। आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहनेछ । 

मिथुन : समय राम्रो छ । समयले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर र सफलताले पछ्याउनेछन् । टाढिएका शुभचिन्तकहरू नजिकिनाले प्रशन्नता मिल्नेछ । धार्मिक र सेवामूलक काममा सहभागी भइनेछ । 

कर्कट : समय खराव रहनेछ । आज व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । तनावमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्नेछ । 

सिंह : समय शुभ छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । 

कन्या : समय मध्यम खालको छ । वचन पुर्याउन नसक्दा अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ । 

तुला : स्वास्थ्य राम्रो छैन । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। 

वृश्चिक : परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा दौडधूप गर्नुपर्ला। फाइदाको पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्नेछ । 

धनु : समय राम्रै रहनेछ । नोकरीमा प्रतिष्पर्धीहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने शत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् । विवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुनेछ । घर परिवार तथा आफन्तहरु खुसि हुनेछन् । 

मकर : स्वास्थ्य राम्रो रहनेछ । न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपाईकै पक्षमा आउनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुनाले थोरै लगानीबाट मनग्य आम्दानी गर्न सकिनेछ । 

कुम्भ : समय खराब नै रहनेछ । समय अनुकुल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाढिन सक्छन्, ध्यान दिनुहोला । विद्यार्थीहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउन गाह्रो पर्नेछ । 

मीन : समय खराब रहनेछन् । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारी धनको सहि परिचालन गर्न नसक्दा आम्दानीका बाटाहरु साघुरा हुँनेछन् । मनोबल कमजोर हुनेछ । 

साइतः आज सूर्य धनु र चन्द्रमा वृष राशिमा छन् । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६ः५५ बजेदेखि        ०८ः१५ बजेसम्म        काल बेला
बिहान ०८ः१५ बजेदेखि      ०९ः३४ बजेसम्म         शुभ बेला
बिहान ०९ः३४ बजेदेखि       १०ः५३ बजेसम्म        रोग बेला
बिहान १०ः५३ बजेदेखि       १२ः१३ बजेसम्म        उद्धेग बेला
बिहान १२ः१३ बजेदेखि       १ः३२ बजेसम्म          चर बेला
दिनमा १ः३२ बजेदेखि        २ः५२ बजेसम्म          लाभ बेला
दिनमा २ः५२ बजेदेखि        ४ः११ बजेसम्म         अमृत बेला
दिउँसो ४ः११ बजेदेखि        ५ः३० बजेसम्म         काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



नयाँ