- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच फेरि हिरासतमा परेका छन् । उनलाई दोस्रोपटक अष्ट्रेलियाले हिरासतमा लिएको हो । जोकोभिचका वकिलका अनुसार हिरासतमा लिइएका जोकोभिचको आज एकअदालतमा सुनुवाइ हुनेछ ।
अब अदालतले नै तय गर्नेछ कि कोरोनाको खोप नलगाएका सर्वियन खेलाडी जोकोभिच अष्ट्रेलियन ओपन खेल्न पाउँछन् कि पाउँदैनन् भन्ने । यसअघि अष्ट्रेलियाले हिजो जोकोभिचको दोस्रो पटक भिसा रद्द गरेको थियो । खोप नलगाएको भन्दै समुदायलाई जोखिम पुर्याउन सक्ने देखिएकाले भिसा रद्द गरिएको तर्क गरिएको छ ।
अध्यागमन मन्त्री एलेक्स हकले जोकोभिचको भिसा फेरि रद्द गर्न थप शक्ति प्रयोग गर्दै उनको भिसा रद्द गरेको हो । यसअघि आफ्नो भिसा जोगाउन जाकोभिचले अदालतमा दिएको निवेदनपछि अदालतले उनको भिसा जोगाउन आदेश दिएको थियो । सोमबार उनी हिरासतबाट मुक्त भएका थिए ।
धारा १३३ को सी ३ को प्रयोग गर्दै जाकोभिचको भिसा रद्द गरेको अध्यागमन मन्त्री हकले बताएका थिए । केही दिनअघि जाकोभिच वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्न मेलबर्न विमानस्थलमा उत्रेसँगै उनलाई त्यहाँबाटै हिरासतमा लिएर होटेलमा राखिएको थियो ।
जाकोभिच गत डिसेम्बर १६ मा कोरोना संक्रमण पुष्टि भएपछि पनि दुई दिनपछि एक अन्तर्वार्तामा सहभागी भएका थिए । उनी कोरोना भाइरस विरुद्धको खोप विरोधीका रुपमा चिनिन्छन् ।
उनले कोरोनाको स्वास्थ्य प्रोटोकलसमेत तोड्दै आएका छन् ।