arrow

प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा १२ नाटक छनोट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ४ मंगलबार
drama.jpg

पोखरा । पोखरा थिएटरले आयोजना गरेको दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा अन्तिम चरणका लागि १२ नाटक छनोट भएका छन् । 

महोत्सवका लागि प्राप्त कुल २४ नाटकमध्येबाट पहिलो चरणमा १६ नाटक छनोट गरिएको थियो । छनोट भएका १६ नाटकबाट अन्तिम चरणका लागि १२ नाटक छनोट गरिएको महोत्सव संयोजकसमेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए ।

‘नाटक छनोटका लागि पुस २६ गतेबाट माघ २ गतेसम्म विभिन्न जिल्लामा गएर अवलोकन गरिएको थियो । यस अगाडि अन्तिम चरणमा १० नाटक छनोट गर्ने भनिए पनि नाटकको प्रस्तुतिका आधारमा थप दुई नाटकलाई प्रोत्साहन स्वरुप छनोट गरिएको हो’ उनले भने । 

नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो । जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन छन् । उनीहरुले सम्बन्धित ठाउँमा पुगेर नाटकको अवलोकन गरेर उत्कृष्ट १२ छनोट गरेका हुन् ।

अन्तिम चरणका लागि नवलपुर जिल्लाबाट सबैभन्दा धेरै तीन नाटक छनोटमा परेका छन् । जसमा लिलाबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्राविको हराएको खुशी, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन बाल माध्यमिक विद्यालयको जिम्मेवार को ? र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माध्यमिक विद्यालयको सक्षम छात्रा शीर्षकको नाटक छन् ।

कास्की जिल्लाबाट दुई नाटक छनोटमा परेका छन् । जसमा मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवासीय माध्यमिक विद्यालयको शान्तिको अशान्ति शीर्षकको नाटक र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको आरोह-अवरोह शीर्षकको नाटक छन् ।          

लमजुङ जिल्लाबाट दुई वटा नाटक छनोट भएका छन् । जसमा भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको धनबहादुर शीर्षकको नाटक र सूर्यबहादुर केसीको लेखन तथा पशुपति न्यौपानेको निर्देशनमा विद्याज्योति माध्यमिक विद्यालय सुन्दर बजारको जीउँदा लाशहरु शीर्षकको नाटक छन् । 

तनहुँ जिल्लाबाट टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माध्यमिक विद्यालयको नाम बिनाको चिर्कटो छनोट भएको छ ।

यसैगरी गोरखाबाट अनिता देशाईको लेखन तथा सुरेन्द्र देवकोटा नाट्य रुपान्तरण एवं निर्देशनमा शक्ति माध्यमिक विद्यालयको एक समर्पित छोरा शीर्षकको नाटक अन्तिम छनोटमा पर्न सफल भएको छ ।

म्याग्दी जिल्लाबाट बेनी सामुदायिक माध्यमिक विद्यालयको बाल विवाह शीर्षकको नाटक छनोट भएको छ । कर्ण बस्यालले लेखेको यस नाटकलाई रामचन्द्र पौड्यालले निर्देशन गरेका छन् । 

बाग्लुङ जिल्लाबाट कालीगण्डकी आवासीय माध्यमिक विद्यालयको विदेशिनु पर्दाको पिडा शीर्षकको नाटक छनोट भएको छ । जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशनमा यो नाटक तयार भएको छ ।

यस्तै, पर्वत जिल्लाबाट न्यू होराइजन आवासीय माध्यमिक विद्यालयको मेरो समाजमा नारी शीर्षकको नाटक छनोटमा परेको छ । मीना रेग्मीको लेखन रहेको नाटकलाई रेजिना मल्लले निर्देशन गरेका छन् ।

छनोट भएका नाटक मञ्चन हुने मिति भने पछाडि सरेको छ । यसअघि माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिने भनिएकोमा कोरोना संक्रमण पुनः बढेकोले सारिएको हो । परिस्थिति सहज हुने वित्तिकै नयाँ मिति तय हुने आयोजक पोखरा थिएटरले जनाएको छ ।  

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना गरिएको  महोत्सवमा गण्डकी प्रज्ञा-प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल सङ्गीत तथा नाट्य-प्रज्ञा प्रतिष्ठान काठमाडौं र पोखरा प्रज्ञा-प्रतिष्ठान पोखराले सहकार्य गरेका छन् । 

गत वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसभन्दा अगाडि थिएटरले पोखरा महानगरपालिकास्तरीय नाटक महोत्सवसमेत आयोजना गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ