- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वको सबैभन्दा धनाढ्य अर्बपति एलन मस्कको मानव मस्तिष्कमा चीप प्रत्यारोपण परियोजनाले चाडै परीक्षण शुरु गर्ने भएको छ । चीप बनाउने मस्कको कम्पनी न्यूरालिङ्कले चाँडै मानव परीक्षण शुरु गर्ने तयारी गरिरहेको छ ।
चीपको मद्दतले पक्षाघातबाट पीडित व्यक्तिले आफ्नो औँलाभन्दा छिटो दिमागले स्मार्टफोन चलाउन सक्ने मस्कले बताएका छन् । मस्कले २०१६ मा यो कम्पनीको संस्थापना गरेका थिए । यो चीप पेजर नामको बाँदर र एक सुँगुरमा जडान गरिसकिएको छ । बाँदरको दुवै (दायाँ र बायाँ) दिमागमा चीप प्रत्यारोपण गरिएको थियो । चीप प्रत्यारोपण गरिएपछि बाँदर हातको प्रयोग नगरेर सोचेकै भरमा गेम खेल्न सफल भएको थियो ।
मस्कले सन् २०१६ मा सान फ्रान्सिस्कोमा स्टार्टअप शुरु गरेका थिए । यसले अल्जाइमर्स, डिमेन्सिया र स्पाइनल कर्डमा चोटपटक जस्ता न्यूरोलोजिकल समस्याहरूको उपचार गर्न मद्दत गर्न मानव मस्तिष्कमा कम्प्युटर इन्टरफेस प्रत्यारोपण गर्ने लक्ष्य राखेको छ। यस परियोजनाको साथ मस्कको दीर्घकालीन लक्ष्य मानव र आर्टिफिसियल इन्टेलिजेन्सबीचको सम्बन्धको अन्वेषण गर्नु हो।
एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनीसँग २५६ अर्ब अमेरिकी डलरको सम्पत्ति छ । गत महिना मस्कले यो प्रविधिको सहयोगले रोगका कारण हिँड्न नसक्ने मानिस फेरि हिँड्न सक्ने आशय व्यक्त गरेका थिए ।
मस्कले यो वर्षको अन्त्यसम्ममा मानव मस्तिष्कमा कम्प्युटर चीप जडान गर्ने योजना शुरु गरिने पनि घोषणा गरेका छन् । मस्कले सबै कुरा ठिक भएमा न्यूरालिङ्कको नामबाट शुरु भएको ब्रेन कम्प्युटर इन्टरफेसको मानव परीक्षण यसै वर्षको अन्त्यसम्ममा शुरु गरिनेछ ।
एलन मस्कले अहिले मुख्य विद्युतीय गाडी कम्पनी टेस्ला, अन्तरिक्ष अन्वेषण सम्बन्धी कम्पनी स्पेस एक्स र मस्तिष्कमा चीप प्रत्यारोपण गर्ने न्युारोटेक्नोलोजी कम्पनी न्युरालिंक सञ्चालन गरिरहेका छन् ।