- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनपछि पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरो गरी तीन तहको संरचना अलपत्र परेको छ । महाधिवेशनपछि पुष्पकलम दाहाल प्रचण्डलाई अध्यक्षमा चयन गरेर माओवादी पार्टीको मुल नेतृत्वको तहगत संरचना अलपत्र परेको हो ।
पुस ११ देखि एक हप्ता लगाएर भएको महाधिवेशनले केन्द्रीय कमिटीको चयन बाहेक पदाधिकारी स्थायी कमिटी, पोलिटव्यूरो चयन नगरी राखेको छ । सो चयन नहुँदा पूर्व संरचनामा रहेको स्थायी कमिटीले काम चलाउन थालेको छ । पार्टीको संस्थागत निर्णय गर्नु परेमा पूर्व स्थायी कमिटीको बैठक राखेर निर्णय गर्नुपरेको छ ।
‘कोरोना संक्रमणदर कम भएपछि यसै महिनाभित्र पार्टीको केन्द्रीय कमिटीको बैठक बस्नेछ त्यसबाट पदाधिकारी र स्थायी कमिटी चयन हुनेछ’, माओवादीका कार्यालय सचिवसमेत रहेका केन्द्रीय सदस्य श्रीराम ढकालले भने । उनका अनुसार अहिलेलाई पुरानै संरचनामा रहेको स्थायी कमिटीबाट काम चलाइएको हो ।
महामारीको बेलामा केन्द्रीय कमिटीको बैठक बस्ने अवस्था नभएको र महाधिवेशनपछि धेरै जसो नेताहरु संक्रमणमा परेपछि पदाधिकारी चयन हुन नसकेको माओवादीको मूल नेतृत्वले जनाएको छ । यद्यपि महासचिवमा धेरै नेताहरुले दावी गरेपछि प्रचण्डले पदाधिकारी चयन रोकेका थिए ।
‘पदाधिकारी चयनमा प्रचण्डले नै रोकेका हुन् । वर्षमान पुन विदेशमै रहेका कारण रोकिएको थियो । अब चयन हुन्छ’, माओवादी निकट स्रोतले भन्यो । जनार्दन शर्माका अतिरिक्त वर्षमान पुन महासचिवका बलिया दावेदार हुन् । तर उनीहरु दुवैलाई महासचिव नबनाउने गरी माओवादी नेताले तयारी गरिरहेका छन् ।
खासगरी महासचिवमा पम्फा भुषाल, शक्ति बस्नेत, देवप्रसाद गुरुङको पनि इन्ट्री भएको छ । शर्मा र पुनको भिडन्तमा बस्नेत अघि सरेका छन् । भुषाल र गुरुङलाई भन्दा प्रचण्डले महाचिवको जिम्मेवारी बस्नेतलाई दिने सम्भावना पनि रहेको बताइएको छ । तर यो विषय धेरै सतहमा आएको छैन ।
बैंकक र चीनमा उपचार गरी पुन सोमबार काठमाडौं आउँदै छन् । उनी नआउँदै महाधिवेशन सम्पन्न भएको थियो । एक पटक केन्द्रीय कमिटीको बैठक बसेको थियो । त्यस बैठकले पदाधिकारी चयन नगरी प्रचण्डलाई अध्यक्षको जिम्मेवारी दिएर सकिएको थियो ।
अब पुन आएपछि केन्द्रीय कमिटीको बैठकको कार्यतालिका तय हुने माओवादीका नेताहरुले जनाएका छन् । उनीहरुले संक्रमण कम भए यसै महिनाको अन्तिम साता वा फागुनको पहिलो साता बैठक राखेर पदाधिकारी र स्थायी कमिटीको चयन हुने बताउँदै आएका छन् ।
‘चाडै नै केन्द्रीय कमिटीको बैठक बस्छ, त्यसले नै पदाधिकारीको चयन गर्छ’, एक केन्द्रीय सदस्यले भने । त्यतिन्जेलका लागि माओवादीले पूर्व स्थायी कमिटीको बैठक राखेर राजनीतिक निर्णयहरु गर्ने भएको छ ।
शनिबार पनि पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो । सो बैठकले पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको छ ।
बैठकमा बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय भएको माओवादी केन्द्रका पूर्व प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले बताए ।
हाल माओवादी केन्द्रीय सदस्य मात्रै रहेका महरा यसअघि पार्टीको प्रवक्ता थिए । अहिले उनले नै प्रवक्ताको जिम्मेवारी बहन गरिरहेका छन्, उनले पार्टीको वरिष्ठ उपाध्यक्ष दाबी गरिरहेका छन् । पूर्व स्थायी कमिटीको शनिबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा पार्टीकै तर्फबाट एउटा कार्यदल बनाउने सुझाव आएको थियो ।
तर गठबन्धन दलले बनाएको कार्यदलको सुझाव आएपछि मात्रै अर्को कार्यदल बनाउने वा त्यसलाई नै सुझाव दिने विषयमा अर्को बैठकमा छलफल गर्ने निर्णय भएको महराले जानकारी दिएका थिए ।
त्यसैगरी स्थानीय निर्वाचनको विषयले पनि बैठकमा प्रवेश पाएको भए पनि कानूनविद्सँग छलफल गरेर निर्णयमा पुग्ने गरी बैठक सकिएको थियो ।