विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो खिचेर विश्व रेकर्ड
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १४ शुक्रबार
441
Shares
काठमाडौं । नेपाली पाँच युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायाङ्कन गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् । सोलुखुम्बुस्थित पाँच हजार २० मिटर उचाइमा रहेको खारे (मेरा पिकजाने बाटो)मा पुगेर उनीहरूले छायाङ्कन गरेको म्युजिक भिडियोलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले कीर्तिमानको मान्यता दिएको हो ।
गीतकार बुद्धिराज राई (दुर्लभ जन्तरे), गायक टेक नाछिरिङ र शिखरजंग श्रेष्ठ (गजरकोटे), गायिका माया गुरुङ, मोडल तथा डान्सर सिर्जना किराँतीले म्युजिक भिडियो छायाङ्कन गरेर कीर्तिमान राखेका हुन् । ‘सुन्दर हिमाल’ बोलको यो गीत बुद्धिराज राईले लेखेका हुन् । जुन गीत टेक नाछिरिङको युट्युव च्यानलमा अपलोड गरिएको छ ।
यसअघि उच्च स्थानमा म्युजिक भिडियो छायाङ्कन गरेर गिनिज बुकमा ‘हाइयस्ट अल्टिच्युड म्युजिक भिडियो अन ल्यान्ड’ शीर्षकमा नेपाली युवाहरूले नै कीर्तिमान राखेका थिए । उनीहरूले चार हजार आठ सय १४ मिटर उचाइमा रहेको गोक्यो ताल आसपासमा छायाङ्कन गरेका थिए ।
स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीले मादल, डम्बर सिंह राईले बाँसुरी, पूर्ण राईले गितार र टेक नाछिरिङले किबोर्ड बजाएका छन् । गीत रेकर्ड शिखर जङ्गले गरेका हुन् । म्युजिक भिडियोको निर्देशन बुद्धिराजले गरेका हुन् ।
गंगाराम राईको छायाङ्कन रहेको म्युजिक भिडियो गाउँले इन्टरटेनमेन्टले पोस्ट प्रोडक्सन गरेको हो । गीत रेकर्डिङ र भिडियो छायाङ्कन १ सेप्टेम्बर सन् ०२१ मा सम्पन्न भएको थियो ।
बुद्धिराज गीतकार तथा निर्देशक हुन् । उनले दर्जनभन्दा बढी गीत लेखेका छन् । अन्य कलाकार टेक नाछिरिङ, सिर्जना किराँती पनि सोलु सोताङमै जन्मेका हुन् । स्याङ्जाली माया गुरुङ दोहोरी गायिका हुन् ।
तनहुँ घिरिङ गाउँपालिका–१ गजरकोटमा जन्मेका शिखरजंग पत्रकार पनि हुन् । उनी एक दशकदेखि रेडियो पत्रकारितामा सक्रिय छन् ।