arrow

माओवादीले माघभित्रै पदाधिकारी पाउँदै, महासचिवमा अनन्तकै चर्चा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १५ शनिबार
barshaman-pun-news-pokhara.jpeg

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी माघ २७ गतेको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी गरेको छ । पुस ११ गतेदेखि एक हप्ता बढी समय लगाएर गरिएको महाधिवेशनले पदाधिकारी टुंगो लगाउन नसकेपछि २७ गते बस्ने केन्द्रीय कमिटीको बैठकले टुंगो लगाउने तयारी गरेको हो । 
 
यो बैठकले पदाधिकारीमा दाबी गर्ने नेताहरु सबैको व्यवस्थापन गर्ने बताइएको छ । खासगरी महासचिवको विषयमा रस्साकस्सी चलिरहेको बेला २७ गतेको बैठकले सबै नेताहरुको पद टुंगो लगाउने एक माओवादी नेताले बताए । उनका अनुसार उपचारपछि नेपाल फर्केका वर्षमान पुन अनन्तको पनि २७ गतेको बैठकमा उपस्थिति हुनेछ । 

महासचिवकोसमेत दावेदार रहेका पुनलाई महाधिवेशनबाटै केन्द्रीय सदस्य चयन गरेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले पहिलो बैठकबाटै पदाधिकारी चयन हुने बताए पनि पुन नेपाल नआएकै कारण विभिन्न कारण देखएका रोकिएको थियो । 

पुन नेपाल आएपछि उनले पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्षको दावेदार रहेका नारायणकाजी श्रेष्ठ, महासचिवकै दावेदार रहेका जनार्दन शर्मा, पम्फा भूषाल, शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरुसँग भेटघाट गरिसकेका छन् । ‘उहाँले एक पटक सबै नेताहरुँग भेटघाट गरिसक्नु भएको छ भेटमा सन्चो विसन्चोको विषयमा कुराकानी हुने नै भयो तर राजनीतिक व्यक्ति भएको र भर्खरै महाधिवेशन सकिएकाले आउदो केन्द्रीय कमिटीको बैठकको विषयमा पनि कुराकानी हुनु स्वाभाविक हो’, पुन निकट रहेका एक नेताले भने । 

पार्टीभित्र महासचिव को बन्ने भन्ने लफडा परिरहेका बेला चीनबाट फर्केका पूर्व सचिव पुनले पार्टी महासचिवमा विमानस्थलबाटै दाबी गरेका थिए  । उपचारपछि स्वदेश फर्केका पूर्व सचिव पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै सञ्चारकर्मीमाझ पार्टी महासचिवको दाबी प्रस्तुत गरेपछि सबैमा एक प्रकारको तरंग उत्पन्न भएको थियो । त्यसको भोलिपल्ट नै पुनले सकेसम्म धेरै नेताहरुसँग भेटघाट गरेका थिए । 

शुरुमा पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर आफू महासचिवको दावेदार रहेको जानकारी गराएका थिए । ‘अध्यक्ष प्रचण्डले जे चाहनु भएको थियो उहाँले त्यसमै दाबी प्रस्तुत गर्नुभयो, अध्यक्ष प्रचण्ड पनि पुनलाई महासचिव बनाउन चाहनुहुन्छ’, प्रचण्ड निकट रहेका एक नेताले भने । 

उनका अनुसार पार्टीभित्र ठूलै विवाद भए मात्रै नत्र पुन नै महासचिव हुन् । ‘पम्फा भुषाल बाहेक सबैले मान्ने अवस्था छ । पम्फा भुषाललाई पनि मनाउन उपाध्यक्ष बनाउने कुरा छ । सरकारमा पनि भएकाले भुषालले नमान्ने अवस्था छैन । फेरि उहाँ बाबुराम भट्टराई, रामबहादुर थापा बादल हुँदै पार्टीमै रहेर काम गर्नु भएको हो । उहाँ पार्टी संस्थापन पक्षको किचन क्याबिनेट भित्र पर्नुहुन्न’, प्रचण्ड निकट ती नेताको भनाइ छ । 
उनका अनुसार किचन क्याबिनेट भनेको जनार्दन शर्मा, शक्ति बस्नेत पनि हो । तर उहाँहरुको विषयमा प्रचण्ड त्यतिधेरै आश्वस्थ हुन नसकेपछि पुनलाई रोज्ने संभावना रहेको हो र पुनले विगतमा आफू पार्टीको सचिव रहेका कारण पनि स्वभाविक रुपमा महासचिवको दाबी रहेको बताउँदै आएका छन् । 

हाल अर्थमन्त्री रहेका शर्माले यसअघि नै महासचिवमा दाबी गर्दै आएका छन् । शर्मालाई टक्कर दिने गरी पुनले विमानस्थलबाटै आफू महासचिवको दावेदार रहेको बताएका थिए । पार्टी अध्यक्ष प्रचण्ड र वर्षमान पुनको निकट विगत सम्बन्ध पार्टीभित्र राम्रो रहेको छ । त्यसको संकेत प्रचण्डका निकट रहेका कृष्णबहादुर महराले पनि गरिसकेका छन् । 

शर्माले अर्थमन्त्री बन्ने बित्तिकै पार्टीको नेतृत्व सधै  एकै ठाउँमा रहँदैन भन्ने अभिव्यक्ति दिएपछि पनि प्रचण्ड बिच्किएका थिए । आफू महासचिव नहुने संकेत पाएपछि अर्थमन्त्री शर्माले भने प्रचण्डको धारणा भन्दा फरक हुनेगरी आफ्नो धारणा सार्वजनिक गर्न थालेको छन् । 

त्यसैले त उनले प्रचण्ड र माधवकुमार नेपाल लगायतले स्थानीय तहको निर्वाचन ६ महिनापछि गर्नेबारे छलफल चलाइरहँदासमेत समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका थिए । जुन विषय सरकार गठबन्धन दलमा विचाराधीन रहेको थियो । 

अर्थमन्त्री शर्माले शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै समयमै स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका थिए । ‘स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्छ’, – शर्माले आफ्नो फेसबुक स्टाटस लेखेका थिए । जुन विषयले माओवादीभित्रसमेत चर्चा पायो । त्यतिमात्रै होइन उनले आफू महासचिव नहुने देखेपछि प्रचण्डलाई गठबन्धनभित्र अप्ठेरो पार्ने र माओवादीभित्र पनि विवाद रहेको छ है भन्ने सन्देश दिन त्यस्तो धारणा सार्वजनिक गरेको हुन सक्ने चर्चा गरिएको छ । तर यो विषयमा भने उनले जितेका छन् । सत्ताधारी गठबन्धनले आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । 



नयाँ