arrow

कांग्रेस गठबन्धनलाई साथमै लिएर चुनावमा जाने मनस्थितिमा छ : दीपक खड्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
Deepak-khadka-congress.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता दीपक खड्काले आफ्नो पार्टीले अहिले रहेको पाँच दलीय गठबन्धनलाई साथमै लिएर चुनावमा जाने सम्भावना रहेको बताएका छन् । उनले कांग्रेस चुनावको पक्षमा रहेको भन्दै चुनाव हुँदैन कि भन्ने आशङ्का नपाल्न पनि आग्रह गरेका छन् ।  आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले निर्वाचनसम्बन्धी अब कुनै पनि किसिमको शङ्का तथा आशङ्का नगर्न स्पष्ट पारेका छन् । उनले भने-'अब निर्वाचनसम्बन्धी आशङ्का गरिरहनुपर्दैन । र, गर्नुहुँदैन । यहाँ नेपाली कांग्रेसभित्रको आन्तरिक विषयमा पनि कुरा उठ्यो , कांग्रेसले सबै अङ्ग र साथीहरुलाई मिलाएर नै अघि बढ्छ । हाम्रो पार्टीमा विवाद, मतभेद र छलफल हुन्छ । अरू पार्टीको भन्दा बढी नै छलफल हुन्छ । पार्टीले निर्णय गरेपछि त्यही नै अन्तिम धारणा हो । यसलाई नै पार्टी फुटिहाल्ला कि विद्रोह होला कि भन्ने आशङ्का नगरौँ ।'

नेता खड्काले निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने सम्भावना आफूले देखेको सुनाए । उनले पार्टीका नेताहरूको बीचमा पनि निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने वा नजाने भन्नेबारे आ आफ्नो मत रहेको उल्लेख गरे । उनले भने,'यसबारेमा हाम्रो नेताहरूको बीचमा पनि आफ्नै मत र अभिमत छ । होइन, अब पाँच दलीय गठबन्धन निर्वाचनमा सँगै जानुहुन्न, कांग्रेसले एकलै निर्वाचनमा भाग लिनुपर्छ भन्ने पनि मत छ। अर्कोतर्फ, अहिलेको गठबन्धनलाई सँगै साथमा पनि लिएर निर्वाचनमा जानुपर्छ भन्ने पनि अभिमत छ । अहिले कांग्रेस गठबन्धनलाई सँगै साथमा लिएर हिँड्ने मनस्थितिमा छ । तर, यो नै अन्तिम कुरा होइन । केन्द्रीय कमिटीले निर्णय गरेपछि हामी एकमतले हिँड्छौँ । अहिलेसम्मको सोच र छलफल यसमै केन्द्रित छ । कांग्रेसले गठबन्धनमा रहेका दलहरूलाई सँगै नै निर्वाचनमा लएर जाने सोच बनाएको छ ।'

उनले निर्वाचन गर्नेबारे सहमति भएपछि अब ऐन तथा कानून संशोधन गर्ने कुरा अहिले गर्न नहुने धारणा राखे । उनले भने,'निर्वाचनबारे सहमति भएको छ, यस्तो अवस्थामा अहिले चल्न थाल्नुहुन्न, धेरै कुरा मिलाउनुपर्ने । संविधान र ऐनको बीचमा धेरै मिलाउनुपर्नेछ । निर्वाचित भएर आएपछि बरु के के संशोधन गर्ने हो ? प्रयोगबाट प्राप्त कुराबाट साझा धारणा बनाएर अघि बढ्नुपर्छ । ईलेक्शनपछि समिति बनाएर हामी यो काम गर्छौँ । यसबारेमा सहमति हुन्छ ।'

उनले आगामी निर्वाचनमा कांग्रेस एक ढिक्का भएर चुनावी मैदानमा उत्रिने पनि सुनाए । उनले पार्टीमा कुनै विद्रोह नहुने पनि विश्वास दिलाए । उनले भने,'कुनै पनि घटना हुनेतर्फ कांग्रेस उन्मुख छैन । संसद् खुलाउनको लागि पहल भइरहेको छ । यसको लागि प्रमुख प्रतिपक्षी दल एमालेले गम्भीर भूमिका खेल्नुपर्छ । अब निर्वाचनमा जनुछ, धेरै बाँकी रहेका मुद्दा समाधान गर्नु छ । जनताका धेरै विषय छन् । तिनको पनि निराकरण संसद्बाट नै गर्नुपर्छ । यसको लागि एमालेले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ । १४ जना सांसदको कारबाहीबारे एमालेको गुनासो छ । हामी बहुवाद, बहुदलीय व्यवस्थामा विश्वास गर्ने भएको कारण बहुदलको अवधारणालाई विश्वास गरेर एमालेले उहाँहरूको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ । उहाँहरूले पार्टी निर्माण गरिसक्नुभएको छ। जनताको निकास दिने थलो नै संसद् हो । २६ गते एमालेका सांसदहरू उपस्थित भएर जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ ।'

नेता खड्काले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राम्रो काम गरेको दाबी गरे । उनले भने,'लामो समय देउवाले सरकार चलाउन पाउने अवसर पाउनुभएन । कहिले द्वन्द्व समाधान गर्ने कुरा, कहिले निर्वाचन गराउने काम उहाँको सरकारको पालामा भएका छन्, ठुला ठुला कल्पना गरेजस्तो आज रेल, भोलि पानीजहाज, घरघरमा पाइप पुर्‍याउने कुरा गर्नुभएन । तर उहाँले प्रक्रियागत काम गर्नुभएको छ । खुल्ला अर्थतन्त्रको कुरा, उदारीकरणको कुरा कांग्रेसकै पालामा भएको हो । टेलिकम, हवाई, यातायात, शिक्षा, सञ्चार सबै क्षेत्रमा कांग्रेस नेतृत्वमा हुँदै काम भएको छ। विकास निर्माणको अपेक्षा राख्नुभएको हो भने र गतिशीलता खोजेको हो भने त्यो अहिले भएको छैन । तर, अहिले सरकार शून्यतामा छैन । प्रक्रियागत काम भइरहेका छन् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ