कांग्रेस गठबन्धनलाई साथमै लिएर चुनावमा जाने मनस्थितिमा छ : दीपक खड्का
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
946
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता दीपक खड्काले आफ्नो पार्टीले अहिले रहेको पाँच दलीय गठबन्धनलाई साथमै लिएर चुनावमा जाने सम्भावना रहेको बताएका छन् । उनले कांग्रेस चुनावको पक्षमा रहेको भन्दै चुनाव हुँदैन कि भन्ने आशङ्का नपाल्न पनि आग्रह गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले निर्वाचनसम्बन्धी अब कुनै पनि किसिमको शङ्का तथा आशङ्का नगर्न स्पष्ट पारेका छन् । उनले भने-'अब निर्वाचनसम्बन्धी आशङ्का गरिरहनुपर्दैन । र, गर्नुहुँदैन । यहाँ नेपाली कांग्रेसभित्रको आन्तरिक विषयमा पनि कुरा उठ्यो , कांग्रेसले सबै अङ्ग र साथीहरुलाई मिलाएर नै अघि बढ्छ । हाम्रो पार्टीमा विवाद, मतभेद र छलफल हुन्छ । अरू पार्टीको भन्दा बढी नै छलफल हुन्छ । पार्टीले निर्णय गरेपछि त्यही नै अन्तिम धारणा हो । यसलाई नै पार्टी फुटिहाल्ला कि विद्रोह होला कि भन्ने आशङ्का नगरौँ ।'
नेता खड्काले निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने सम्भावना आफूले देखेको सुनाए । उनले पार्टीका नेताहरूको बीचमा पनि निर्वाचनमा पाँच दलीय गठबन्धन सँगै जाने वा नजाने भन्नेबारे आ आफ्नो मत रहेको उल्लेख गरे । उनले भने,'यसबारेमा हाम्रो नेताहरूको बीचमा पनि आफ्नै मत र अभिमत छ । होइन, अब पाँच दलीय गठबन्धन निर्वाचनमा सँगै जानुहुन्न, कांग्रेसले एकलै निर्वाचनमा भाग लिनुपर्छ भन्ने पनि मत छ। अर्कोतर्फ, अहिलेको गठबन्धनलाई सँगै साथमा पनि लिएर निर्वाचनमा जानुपर्छ भन्ने पनि अभिमत छ । अहिले कांग्रेस गठबन्धनलाई सँगै साथमा लिएर हिँड्ने मनस्थितिमा छ । तर, यो नै अन्तिम कुरा होइन । केन्द्रीय कमिटीले निर्णय गरेपछि हामी एकमतले हिँड्छौँ । अहिलेसम्मको सोच र छलफल यसमै केन्द्रित छ । कांग्रेसले गठबन्धनमा रहेका दलहरूलाई सँगै नै निर्वाचनमा लएर जाने सोच बनाएको छ ।'
उनले निर्वाचन गर्नेबारे सहमति भएपछि अब ऐन तथा कानून संशोधन गर्ने कुरा अहिले गर्न नहुने धारणा राखे । उनले भने,'निर्वाचनबारे सहमति भएको छ, यस्तो अवस्थामा अहिले चल्न थाल्नुहुन्न, धेरै कुरा मिलाउनुपर्ने । संविधान र ऐनको बीचमा धेरै मिलाउनुपर्नेछ । निर्वाचित भएर आएपछि बरु के के संशोधन गर्ने हो ? प्रयोगबाट प्राप्त कुराबाट साझा धारणा बनाएर अघि बढ्नुपर्छ । ईलेक्शनपछि समिति बनाएर हामी यो काम गर्छौँ । यसबारेमा सहमति हुन्छ ।'
उनले आगामी निर्वाचनमा कांग्रेस एक ढिक्का भएर चुनावी मैदानमा उत्रिने पनि सुनाए । उनले पार्टीमा कुनै विद्रोह नहुने पनि विश्वास दिलाए । उनले भने,'कुनै पनि घटना हुनेतर्फ कांग्रेस उन्मुख छैन । संसद् खुलाउनको लागि पहल भइरहेको छ । यसको लागि प्रमुख प्रतिपक्षी दल एमालेले गम्भीर भूमिका खेल्नुपर्छ । अब निर्वाचनमा जनुछ, धेरै बाँकी रहेका मुद्दा समाधान गर्नु छ । जनताका धेरै विषय छन् । तिनको पनि निराकरण संसद्बाट नै गर्नुपर्छ । यसको लागि एमालेले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ । १४ जना सांसदको कारबाहीबारे एमालेको गुनासो छ । हामी बहुवाद, बहुदलीय व्यवस्थामा विश्वास गर्ने भएको कारण बहुदलको अवधारणालाई विश्वास गरेर एमालेले उहाँहरूको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ । उहाँहरूले पार्टी निर्माण गरिसक्नुभएको छ। जनताको निकास दिने थलो नै संसद् हो । २६ गते एमालेका सांसदहरू उपस्थित भएर जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्छ ।'
नेता खड्काले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले राम्रो काम गरेको दाबी गरे । उनले भने,'लामो समय देउवाले सरकार चलाउन पाउने अवसर पाउनुभएन । कहिले द्वन्द्व समाधान गर्ने कुरा, कहिले निर्वाचन गराउने काम उहाँको सरकारको पालामा भएका छन्, ठुला ठुला कल्पना गरेजस्तो आज रेल, भोलि पानीजहाज, घरघरमा पाइप पुर्याउने कुरा गर्नुभएन । तर उहाँले प्रक्रियागत काम गर्नुभएको छ । खुल्ला अर्थतन्त्रको कुरा, उदारीकरणको कुरा कांग्रेसकै पालामा भएको हो । टेलिकम, हवाई, यातायात, शिक्षा, सञ्चार सबै क्षेत्रमा कांग्रेस नेतृत्वमा हुँदै काम भएको छ। विकास निर्माणको अपेक्षा राख्नुभएको हो भने र गतिशीलता खोजेको हो भने त्यो अहिले भएको छैन । तर, अहिले सरकार शून्यतामा छैन । प्रक्रियागत काम भइरहेका छन् ।'