- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पेश गर्नका लागि छलफल थाल्दा चिनियाँ पक्षले त्यसलाई पेश नगर्न दबाब दिँदै आएको छ । खासगरी कम्युनिष्ट पार्टीका नेताहरुलाई चिनियाँ पक्षले दबाब र प्रभावमा पारेपछि संसदबाट एमसीसी पास नगर्न दबाब दिने गरेको हो ।
शनिबार पनि यही विषय पूर्ववत रुपमा दोहोरिएको छ । आइतबारका लागि बोलाइएको संसद अधिवेशनमा एमसीसी प्रस्ताव पेश गर्ने लगभग निश्चितजस्तै थियो । तर शनिबार दिउँसो नै संसद बैठक स्थगित गराउने खेल शुरु भयो ।
बैठक स्थगित गराउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि जानकारी थिएन । शनिबार दिनभर गठबन्धन दलका नेताहरु, पार्टी तथा अन्य काममा व्यस्त रहेका देउवालाई संसद बैठक स्थगित गर्ने विषय जानकारी नभइकनै संसद स्थगित भयो ।
सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो अधिकारलाई प्रयोग गर्दा सरकार प्रमुखलाई पनि जानकारी दिनुपर्छ भन्ने बिर्से वा उनी कसैको डिजाइनमा यस्तो गर्दै थियो भन्ने बारेमा नेपाली कांग्रेसभित्र व्यापक छलफलसमेत भएको छ ।
यद्यपि कुनै कांग्रेसी नेताहरुले यो विषयमा धारणा सार्वजनिक गरेका छैनन् । स्रोतका अनुसार शनिबार दिउँसो माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र सभामुख सापकोटासँग चिनियाँ राजदूतावासबाट संसदमा एमसीसीको प्रस्ताव जान लागेको सूचना प्रवाह भयो । सो सूचनाअनुसार दुवैले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरे ।
अघिल्लो बेलुका अर्थात् शुक्रबार साँझ प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालसँग स्थानीय तहको निर्वाचन पनि गरौं संसदबाट एमसीसी पनि पास गरेर जाऔँ साथै निर्वाचनसम्म पाँच दलीय गठबन्धनलाई पनि कायमै राखौँ भन्ने प्रस्ताव गरेका थिए । त्यतिबेला उनीहरु चुपचाप फर्केका थिए । शनिबारमा बिहान पनि स्थानीय तहको निर्वाचन कांग्रेसले गठबन्धन कायम राख्नुपर्ने आग्रह गरेका नेताहरुलाई देउवाले गठबन्धन कायमै रहने आश्वस्त पारेपछि स्थानीय तहको निर्वाचन गर्न सहमति गराएका थिए ।
बिहानको सहमतिपछि माधव नेपालले निजामति कर्मचारी संगठनको कार्यक्रममा प्रधानमन्त्रीज्यू गठबन्धन कायमै राख्न तयार हुनु भएकाले निर्वाचन बैशाख जेठमै गर्दा पनि आपत्ति नभएको बताएका थिए । त्यही साँझ गठबन्धन दलको बैठक बसेर स्थानीय तहको निर्वाचन जेठभित्रै गर्न सरकारलाई आग्रह गर्ने निर्णय गराइएको थियो ।
त्यतिन्जेलसम्म चिनियाँ अधिकारीहरुले नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई प्रयोग गरेर संसद स्थगित गराइसकेका थिए । ‘चिनियाँ अधिकारीहरुले दिउँसो माओवादीका नेताहरु कृष्णबहादुर महरा र सभामुख सापकोटासँग कुराकानी गरेर संसद स्थगित गर्न आग्रह गरे । साँझ प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुङ थाओसँग भिडियो कल गराएर कुराकानी गराए,’ स्रोतले भन्यो । स्रोतका अनुसार आइतबारको संसद बैठक स्थगित गराउने डिजाइन चिनियाँकै हो जुन विषयमा प्रधानमन्त्रीसमेत जानकार छैनन् ।
‘संघीय संसद र स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्नुपर्ने तर प्रधानमन्त्रीलाई नै जानकारी नदिइ संसद स्थगित गराउने, प्रधानमन्त्रीलाई धोका दिएर गठबन्धनचाहिँ कसरी कायम राख्ने ?’, कांग्रेसका एक सांसदले भने ।
उनका अनुसार चिनियाँकै निर्देशनमा संसद स्थगित भएको हो । ‘दिउँसो चिनियाँहरुको दौडधुप भएको सूचना थियो । साँझ प्रचण्डसँग त कुराकानी नै भएछ । तर प्रचण्डजीले यो विषयलाई बाहिर ल्याउनु भएको छैन, त्यसकारण कुनै न कुनै शंकाको लाभ लिने ठाउँ रहेको छ’, ती सांसदको भनाइ छ ।
उनले भने, ‘नेपालका कम्युनिष्ट पनि गजबकै छन् । भारतको कुनै नेताको फोन आयो वा भेट्न आयो भने मात्र पनि राष्ट्रवाद झल्काउँदै कार्यकर्तालाई विरोध गर्न सडकमा पठाउँछन् चिनियाँ नेताले हस्तक्षेप नै गरे भने पनि गुपचुप राख्छन् । धन्य तिनीहरुको राष्ट्रवाद ।’
प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले एक घण्टा बढी कुराकानी गरेका थिए । सो कुराकानीको क्रममा एमसीसी तत्काल संसदमा पेश गर्नबाट टाढा सार्नुपर्ने आग्रह गरिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग एमसीसी पास गर्नुपर्ने भन्दै संसदमा लैजान सहयोग मागेका थिए । देउवाले संसदमा एमसीसी प्रस्ताव अनुमोदनका लागि लैजाने तर मत जसरी हाले पनि त्यसले सत्ता गठबन्धनमा केही फरक नपर्ने आश्वासन दिँदै त्यसका लागि आफूलाई सहयोग गर्न सत्ता गठबन्धन दलका नेताहरुसँग आग्रह गरेका थिए ।
तर प्रधानमन्त्रीसँग भएको यो कुराकानीलाई पनि बेवास्ता गर्दै सत्ता गठबन्धन दलभित्रकै माओवादी केन्द्रले प्रधानमन्त्रीलाई धोका दिएको कांग्रेसले महसुस गरेको छ ।