arrow

एमसीसी रोक्न दाउपेच 

माओवादीलाई चिनियाँ दबाबः ‘सरकार छाड्न परे छाड्नू एमसीसी पेश गर्न नदिनू’

एमाले नेताहरुले संसदमा पेश गर्नुपर्ने मत राखेपछि चिनियाँ पक्षको बेवास्ता, नेकपा एसलाई भने दबाब जारी  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
mcc.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे धारणा बनाउनु आवश्यक ठानेको छैन । बुधबार बसेको सचिवालय बैठकमा सो विषयले प्रवेश पाएको थिएन । तर एमालेकै कारण सत्ता गठबन्धन दलमा खटपट आएको दाबी गरिएको छ । 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमालेले मन्त्रिपरिषदको बैठकबाट निर्णय गरेर एमसीसी संसदमा टेबुल गर्नु अनि संसद खोल्छु भन्ने शर्त अघि सारेको र त्यसमा देउवा सहमत भएकाले गठबन्धनमा चिसो उत्पन्न भएको माओवादी केन्द्रको ठम्याइ छ । यद्यपि सरकार गठन भएदेखिनै देउवाले एमसीसी संसदमा पेश गर्न चाहेका थिए । 

यो विषयमा शुरुदेखिनै जानकार रहेको उत्तरी छिमेकी मुलुक चीनले सबै दललाई एमसीसी पास नगराउन लबिङ गरेको थियो । एमालेका हिमाली भेगका नेताहरुलाई पनि चीनले प्रयोग गरेको थियो । तर एमाले सत्ता बाहिर भएपछि एमालेलाई भन्दा बढी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एस पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई हातमा लिएर जसरी पनि एमसीसी पास नगराउने नीतिमा लाग्यो । 

भदौको पहिलो साता सभामुख अग्निप्रसाद सापकोटाले संसदमा एमसीसी पेश गर्ने अवस्था आए राजीनामा दिने भनेका थिए । उनी तिब्बतसँग जोडिएको सिन्धुपाल्चोकबाट माननीय भएका हुन् । चिनियाँ पक्षले सापकोटाका अतिरिक्त अर्का नेतालाई निकै विश्वास गरेको छ ।  पूर्व सभामुख कृष्णबहादुर महरालाई माओवादीभित्र आफ्नो विषय वस्तु राख्नु पर्यो भने प्रयोग गर्ने गरेको छ ।
 
प्रचण्डका अति निकट मानिएका महरा २०६७ सालमा सांसद किन्न चिनियाँ व्यापारीसँग पैसा माग्ने काममा संलग्न भएको टेप सार्वजनिक भएको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन चिनियाँ व्यापारीसँग ५० करोड रुपैयाँ मागेको अडियो टेप सार्वजनिक भए पनि त्यसबारेमा पार्टीले छानबिन आवश्यक ठानेको थिएन र चिनियाँ पक्षले पनि कुनै प्रतिक्रिया नदिइ सामसुम बनाएका थियो । 

त्यसयता चिनियाँ पक्षले माओवादीलाई आफ्नो अनुकूल प्रयोग गर्दै आएको छ । त्यसपछि देवप्रसाद गुरुङलाई पनि चिनियाँ पक्षले अनुकुलतामा प्रयोग गर्ने गरेको छ । पछिल्लो पटक सभामुखको भूमिका हुने भएकाले सभामुख सापकोटालाई चिनियाँ पक्षले राम्रैसँग प्रयोग गर्ने गरेको छ । 

त्यसको ज्वलन्त उदाहरण उनका छोरा रुपक सापकोटालाई चिनियाँकै दबाबमा चीनका लागि राजदूत बनाउने तयारी भएको छ । रुपक राजदूत हुनकै लागि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकबाट राजीनामा दिएर बसेका छन् । 

बाबु सभामुख भएपछि अग्नि सापकोटा र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीको भेटमा सापकोटाका छोरा रुपकले ट्रान्सलेटरको भूमिका निभाएका थिए । सभामुखको सपथ लिएलगत्तै सापकोटालाई भेट्न चिनियाँ राजदूत हाउ यान्छी संघीय संसद सचिवालय पुगेका बेला रुपकले ट्रान्सेलटरको भूमिका निभाएका थिए । 

रुपकले चीनको रनवीन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् । अहिले माओवादीलाई महरा र सापकोटामार्फत चिनियाँ पक्षले एमसीसी संसदमा टेबुल गर्न खोजे गठबन्धनबाट बाहिरिनु परे पनि चिन्ता नलिनु भन्दै सन्देश प्रवाह गरिरहेको स्रोतको दाबी छ ।

‘प्रचण्डलाई आश्वस्त पार्नकै लागि गत शनिबार चिनियाँ विदेश विभाग प्रमुख सुङ थाओसँग कुराकानी गराइएको हो । यसको चाँजोपाँजो सबै महराले मिलाएका थिए’, स्रोतले भन्यो । स्रोतका अनुसार चिनियाँहरुले एमालेलाई भन्दा अहिले माओवादीलाई च्यापेका छन् । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई चुनावी दाउपेचको मुद्दा बनाएको र एमसीसी पारित गर्ने–नगर्ने विषयमा आफू नबोलेको कारण चिनियाँको महत्वको सूचीमा नपरेका हुन् । अझ एमाले उपमहासचिव प्रदीप ज्ञवाली र केही नेताहरुले एमसीसीलाई संसदमा पेश गर्नुपर्ने र संसदमा सांसदहरुलाई खुला रुपमा निर्णय गर्ने अधिकार दिनुपर्ने बताइरहेका बेला चिनियाँहरुले बवास्ता गरेको स्रोतको दाबी छ ।  

एमसीसी पास गराउन प्रधानमन्त्री देउवा तयार भए सहयोग गर्ने एमालेले संकेत गरेको भनिए पनि त्यो कतै पनि प्रकट भएको छैन । 

गठबन्धन भित्रैका दल र सभामुखको असहयोगबीच एमसीसी प्रस्ताव मन्त्रिपरिषदबाट निर्णय गराएर संसदमा लैजान प्रधानमन्त्री देउवा तयार भए त्यसमा सहयोग गर्न सक्ने एमालेले संकेत गरेको राजनीतिक हल्ला छ । 

एमसीसी मुद्दामा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच पटक–पटक संवादसमेत भएको भनिए पनि त्यहाँ के के कुराकानी भयो भन्ने बारेमा कही कतै आधिकारिक धारणा सार्वजनिक भने भएको छैन ।  

प्रधानमन्त्री देउवा एमसीसी पास गर्ने र गठबन्धन जोगाउनु पर्ने दोहोरो दबाबमा भएकाले भरसक गठबन्धन नटुटी  एमसीसी पास गर्ने मुडमा देउवा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ