- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर विधिबाट परीक्षण गराउनेको हकमा संक्रमण दर २७.३ प्रतिशत देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार माघ ८ गते पीसीआर विधिबाट परीक्षण गराउँदाको संक्रमण दर ५६.८ प्रतिशत रहेको थियो ।
यसरी हेर्दा पछिल्लो केही दिनयता नेपालमा तुलनात्मक रुपमा कोरोना भाइरसको संक्रमण दर घटेको देखिएको छ । यद्यपि, कतिपय मानिसहरूले परीक्षण नै नगराइरहेका कारण समेत संक्रमण दर कम देखिएको अनुमान गरिएको छ ।
यसबाहेक, ओमिक्रोन भेरियन्ट भन्दा झनै बढी संक्रामक ओमिक्रोनकै सहायक भेरियन्ट बीए.२को संक्रमण पनि एसियाली र युरोपेली मुलुकमा बढ्न थालेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । यी कुराहरूलाई हेर्दा संक्रमणको अवस्था अझै चिन्ताजनक नै रहेको देखिन्छ ।
पछिल्लो दिनहरूमा मृत्युदर समेत बढ्दै गएको अवस्था छ । यसका साथसाथै ओमिक्रोनको संक्रमण बढिरहँदा अर्को भेरियन्ट उत्पन्न हुने चिन्ता समेत उत्तिकै रहेको विज्ञहरूको भनाइ छ ।
पछिल्लो २४ घण्टामा थप १४ जानको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । थप ३ हजार १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा यसको करिब आधा १ हजार ५ सय ९ संक्रमित काठमाडौं उपत्यकाकै रहेका छन् । जसमा काठमाडौंका १२४९, भक्तपुरका ७७ र ललितपुरका १८३ जना रहेका छन् ।
यस अवधिमा १२ हजार ६ सय ५ जनाको नमुना परीक्षण गरिएको थियो । यद्यपि, यसमा इमेल र एसएमएसबाट प्राप्त आरडीटी एन्टीजेन परीक्षणको तथ्याङ्क समेत समेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा ८ हजार ७ सय २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोभिड१९विरुद्धको २ लाख ६६ हजार ५ सय ४० डोज खोप लागेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ६३ हजार २ सय ९६ पुगेको छ ।