arrow

शनिदेवको प्रिय दिनमा काल बेला, कस्तो होला आजको दिन ?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७८ माघ २२ शनिबार
rashifal-horoscope-green.jpg

आजको पञ्चाङ्ग

आज मिति २०७८ माघ २२ गते शनिबार, इस्वीसंवत फेब्रुअरी ५ तारिक सन् २०२२, श्रीशाके १९४३, नेपाल संवत् ११४२, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको चतुर्थी तिथि रहनेछ । आज नक्षत्रमा उत्तरभाद्रपद, विष्कुम्भादि योगमा सिद्ध, करणमा बव र आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य मकर राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान २७ घटि १२ पला अर्थात १० घण्टा ५८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ४८ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः४६ बजे हुनेछ । 

आजको राशिफल

मेषः समय खराब छ । दैनिक काममा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ । 

वृषः समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
  
मिथुनः विवादित विषयहरूबाट निचोड तपाइकै पक्षमा आउनेछ । पुराना समस्याबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँनयाँ काम गर्न सकिनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा सत्रुता राख्न चाहनेहरू आफै कमजोर हुनेछन् ।

कर्कट: समय शुभ छैन । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । 

सिंहः समय शुभ छैन । आफन्त तथा अग्रजहरूसँग विवाद सृजन हुनेछ । गैर न्यायिक काम नगर्नु होला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । 

कन्याः समय राम्रै रहनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा मन जानेछ भने धार्मिक क्षेत्र तिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाइमा मन जानेछ भने खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात लाग्नेछ । आम्दानी र खर्चको सन्तुलन मिलाएर व्यवसाय गर्न सक्दा थप लगानी गर्न सकिनेछ । 

तुलाः समय र स्वास्थ्य राम्रो रहनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । पैतृक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ ।

वृश्चिकः समय शुभ छैन, स्वास्थ्यमा समस्या आउन सक्छ । चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाब सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । एक पटक स्वास्थ्य जाँच गराउनु नै उचित हुनेछ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । 

धनुः समय खराब छ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ । समय खराब रहेकाले आज भ्रमण, धन लगानी, महत्वपूर्ण राजनीतिक निर्णय नगर्नुहोला ।

मकरः समय राम्रो रहनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेकोेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ भने छोटो तथा रमाइलो व्यावसायिक यात्राको तय हुनेछ । 

कुम्भः समय भरोषाको छैन । यात्रामा झण्झट, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

मीनः समय राम्रो छ । टाढाबाट नगद प्राप्त हुनेछ । नवीन कार्यको थालनी गर्दा राम्रो, शारीरिक अवस्था पनि राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ । भरपूर फाइदा उठाउनुहोला । सामाजिक क्षेत्रबाट सम्मान मिल्ने योग पनि छ ।

साइतः आज सूर्य मकर र चन्द्रमा कुम्भ राशिमा छन् । त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६ः४९ बजेदेखि      ०८ः११ बजेसम्म       काल बेला
बिहान ०८ः११ बजेदेखि      ०९ः३३ बजेसम्म       शुभ बेला
बिहान ०९ः३३ बजेदेखि        १०ः५५ बजेसम्म       रोग बेला
बिहान १०ः५५ बजेदेखि       १२ः१७ बजेसम्म       उद्धेग बेला
बिहान १२ः१७ बजेदेखि       १ः३९ बजेसम्म         चर बेला
दिनमा १ः३९ बजेदेखि        ३ः०१ बजेसम्म         लाभ बेला
दिनमा ३ः०१ बजेदेखि        ४ः२३ बजेसम्म         अमृत बेला
दिउँसो ४ः२३ बजेदेखि        ५ः४६ बजेसम्म         काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ