arrow

सुमन र छेन्वीमायाले जिते अर्मला दौड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
Armala run.jpg

पोखरा । अर्मला पर्वतीय दौडको उपाधि पुरुषतर्फ सोलुखुम्वुका सुमन कुलुङ र महिलातर्फ धरानकी छेन्वीमाया राईले जितेका छन् । पोखरा-१६ स्थित अर्मलामा श्रीपञ्चमीको अवसरमा अर्मलाकोट युवा क्लव दौड प्रतियोगिता आयोजना गरेको हो । यो छैटौं संस्करण हो ।

पुरुषतर्फको १२ किमि दौड ५० मिनेट ४८ सेकेण्डमा पूरा गर्दैै सुमनले नगद २० हजारका साथमा मेडल र प्रमाणपत्र हात पारे । यस्तै छेन्वीले नगद १० हजारका साथमा मेडल तथा प्रमाणपत्र गरिन् । उनले १ घन्टा ७ मिनेट ५३ सेकेण्डमा दौड पूरा गरेकी थिइन् ।

पुरुषतर्फनै बैतडीका मोहनदेव जोशी दोस्रो  भए । उनले ५२ मिनेट ३४ सेकेण्डमा दौड पूरा गर्दै नगद १५ हजार रुपैयाँ हात पारे । प्रतियोगितामा सिन्धुलीका जितेन्द्र दनुवार तेश्रो र धरानका मोहन कुमार राई सान्त्वना भए । 

यस्तै, महिलातर्फ पोखराकी संगीता विक दोस्रो  भइन् । उनले दुरी १ घन्टा २२ मिनेट ३ सेकेण्डमा पूरा गर्दै नगद ८ हजार रुपैयाँ हात पारिन् ।

प्रतियोगितामा तेश्रो स्थान स्याङजाकी रीता गुरुङ र पोखराकी ओममाया फगामीले सान्त्वना स्थान प्राप्त गरे। 

यता, वडा नं. १६ तर्फको इभेन्टमा पुरुषतर्फ साजन विक पहिलो, प्रकाश राई दोस्रो, राजकुमार क्षेत्री तेश्रो र अजय गुरुङले सान्त्वना स्थान हासिल गरेका छन् ।

सोही प्रतियोगितामा महिलातर्फ कोमली खड्का पहिलो र अस्मिता नेपाली दोस्रो भए । सिनियर ठेलोतर्फ पोखरा-१६ का सुरज गुरुङले १७.५५ फाल्दै पहिलो भएका छन् ।

विजेता सुरजलाई नगद ५ हजारसहित परम्परा अनुसार फेटा लगाएर सम्मान गरिएको थियो भने १६ वर्ष मुनीको प्रतिष्पर्धामा पोखरा १३ का सुजन गुरुङ पहिलो भएका छन् । उनले नगद ३ हजार प्राप्त गरे ।



नयाँ