arrow

कमल थापाले आफू निकटकालाई समेटेर नयाँ पार्टी बनाउने, जुट्यो टिम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
kamal-thapa_(2)1.jpg
तस्बिर– फाइल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले राप्रपा छाडेका छन् । योसँगै उनले नयाँ पार्टी खोल्दैछन् । जसमा राप्रपा भन्ने शब्द नै नहुने बताइएको छ । उनको साथमा गत मंसिरमा भएको राप्रपाको महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र झन्डै एक सय केन्द्रीय सदस्य पनि रहने दाबी गरिएको छ । 

उनको खेमाबाट निर्वाचित उपाध्यक्ष बुद्धिमान तामाङ, ध्रुबबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्री कुन्ती शाही र भुवन पाठकसहित थापा पक्षबाट निर्वाचित झन्डै एक सय केन्द्रीय सदस्यले नयाँ पार्टी खोल्नलाई साथ दिने दाबी गरिएको हो । 

गत महाधिवेशनवाट तीनजना उपाध्यक्ष, एकजना महामन्त्री र एक सय ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यीमध्ये सबैजसो थापाको नयाँ पार्टीमा रहने दाबी गरिएको छ । 

उपाध्यक्ष प्रधानले अब के गर्ने भन्ने बारेमा आफूहरु छलफलमा रहेको बताएका छन् । सोमबार मात्रै काठमाडौंको चाबहिलमा आफू निकटकाहरुलाई बोलाएर थापाले अहिलेको नेतृत्वले आफूलाई पाखा पारेको आरोप लगाउँदै आफ्ना मागको बारेमा पनि वास्ता नगरेको गुनासो गरेका थिए । 

मंगलबार भने उनी हेटौंडा पुगेर पार्टी त्यागेको घोषणा गरेका थिए । 

थापा भने काठमाडौं फर्किरहेका छन् । थापा निकट एक केन्द्रीय सदस्यले बुधबारदेखि नै नयाँ पार्टीका बारेमा छलफल चलाउने बताएका छन् । हेटौंडाबाट काठमाडौं फर्कदै गरेका केन्द्रीय सदस्य अभिषेक थापाले परिस्थिति अनुकुल नभएकाले कमल थापाले राजीनामा दिनुपरेको बताए । उनले भने, ‘पूर्व अध्यक्षज्यूले वर्तमान अध्यक्षलाई चिठी नै लेखेर राखेका मागको सम्बोधन नगरेपछि यो अप्रिय निर्णय लिनु परेको हो ।’

पूर्व अध्यक्ष थापा काठमाडौं आउनुअघि नै उपलब्ध केन्द्रीय पदाधिकारीसहितका उनको खेमाबाट चुनाव लडेर जितेकाहरु भने छलफलमा जुटिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ