arrow

पछिल्लो एक साताकाे कोरोना संक्रमण दर १६ प्रतिशत

४२ प्रतिशतबाट १६ प्रतिशतमा झर्‍यो कोरोना संक्रमण दर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २८ शुक्रबार
corona-weekly-update.jpg

काठमाडौं। पछिल्लो एक साता (माघ २१ देखि २८) गतेसम्मको तथ्याङ्क हेर्दा नेपालमा कोरोना भाइरसको संक्रमण दर करिब १६ प्रतिशत देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार यो एक साताको अवधिमा ८१ हजार १ सय ३० जनाको नमुना परीक्षण गरिएको छ ।

नमुना परीक्षण गरिएकामध्ये १२ हजार ९ सय २३ जनामा कोभिड१९को संक्रमण पुष्टि भएको छ । यसरी हेर्दा संक्रमण दर १५.९३ अर्थात् करिब १६ प्रतिशत देखिएको हो ।

यो एक साताको अवधिमा ४३ हजार १ सय ६४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् भने, ८६ जना संक्रमितको मृत्यु भएको छ ।

दुई साताअघि अथवा माघ पहिलो सातामा कोरोना भाइरसको संक्रमण दर ४२ प्रतिशत रहेको थियो ।

माघ १ गतेदेखि ७ गतेसम्ममा १ लाख ४३ हजार ९ सय ६० जनाको नमुना परीक्षण गरिएको थियो ।

तीमध्ये ६० हजार ९ सय ८२ जनामा संक्रमण पुष्टि भएको थियो । सो तथ्याङ्क अनुसार माघ पहिलो साता संक्रमण दर निकै नै उच्च ४२.३६ प्रतिशत थियो । यो अवधिमा ३ हजार ९ सय २२ जना संक्रमणमुक्त भएका थिए भने, २२ जनाको मृत्यु भएको छ ।

संक्रमण दर घटे पनि पछिल्ला ७ दिनमा मृत्यु हुनेको सङ्ख्या माघ पहिलो साता भन्दा झन्डै चार गुणा बढी छ । पछिल्ला ७ दिनमा ८६ जनाको मृत्यु भएको छ, जुन किन माघ पहिलो साता २२ जना संक्रमितको मृत्यु भएको थियो ।

गत महिना अर्थात् पुस तेस्रो साता (१८ देखि २४ गतेसम्म)मा संक्रमण दर ४.७७ प्रतिशत रहेको थियो । त्यस साता ८० हजार ५० जनाको नमुना परीक्षण हुँदा ३,८२२ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यसरी हेर्दा नेपालमा पुस अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण दर बढ्दै गएर माघ अन्तिम सातासम्म आइपुग्दा केही कम हुँदै गएको देखिन्छ ।

माघ २७ गतेसम्मको तथ्याङ्क अनुसारमा नेपालमा हालसम्म कोभिड१९विरुद्धको ४ करोड ६५ लाख ७० हजार ७ सय २० डोज खोप भित्रिएको छ । यसमध्ये ३ करोड ४८ लाख २५ हजार ६ सय १ मात्रा खोप लागिसेको छ ।

मन्त्रालयका अनुसार कुल जनसङ्ख्याको ७१.७ प्रतिशतले पहिलो मात्रा र ५५.१ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यस्तै १८ वर्षमाथिको लक्षित जनसङ्ख्याको ८९.२ प्रतिशतले एक मात्रा र ७३.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । र १२ देखि १७ वर्षको लक्षित जनसङ्ख्यामध्ये ८४ प्रतिशतले एक मात्रा र ३८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ