arrow

वन र प्रहरी प्रशासनको मिलेमतोमा चुरेबाट ढुङ्गा निकासा

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७८ माघ २८ शुक्रबार
chure-dhunga.jpg

रौतहट । रौतहटको चुरे क्षेत्रबाट निर्बाध रूपमा ढुङ्गा तस्करी भइरहेको भए पनि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन । चुरे आसपासका खोला तथा नदीबाट ढुङ्गा निकासी गर्न रोक लगाएको छ तर रौतहटमा भने सो कार्य रोक्न कसैले ध्यान दिएका छैनन् । जिल्लाको चुरे क्षेत्रमा रहेको चाँदी, हिले र सुतनी खोलाबाट ट्याक्टरमा ढुङ्गा निकासी गरेर गैडाटारमा ठुलो परिमाणमा सङ्कलन गरिएको छ । 

राजमार्ग उत्तर चुरे क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी ढुङ्गा सङ्कलन गरिएको हो । चुरे आसपासका खोलाहरूमा ढुङ्गा सङ्कलन गर्न कुनै निकायले अनुमति दिएको छैन । गत वर्ष चाँदिनदी मा नगरपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गर्न खोज्दा केही व्यक्तिहरूले अवरोध गरेका थिए ।

चन्द्रपुर नपा ३ चाँदी नदी किनारमा हजारौँ टिप ढुङ्गा सङ्कलन गरेर राखिएको छ । सो ढुङ्गाको विषयमा नगरपालिका , बन कार्यालय , स्थानीय प्रशासनले एकले अर्को निकायलाई देखाउँदै जिम्मेवारी बाट पन्छिने गरेका छन् ।

डिभिजन बन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले नियम विपरीत सङ्कलन गरेको भन्दै स्टक गरेको ढुङ्गा रोकेको तर नगरपालिका ले यस विषयमा कदम चाल्नु पर्ने बताए ।

राजमार्ग दक्षिण मा ढुङ्गा नपाइने हुँदा चुरे क्षेत्रबाट नै निकाल्नु परेको ट्याक्टर व्यवसायी तथा ढुङ्गा व्यवसायीहरूले बताउँदै आएका छन् । चुरे संरक्षण कार्यक्रम सञ्चालन रहेको क्षेत्र हिलेखोला, गैंडाटार र जुडीबेला बाट ढुङ्गा निकासी भएको हो ।

चन्द्रपुर ३ गैडाटार का वडा अध्यक्ष बोधनाथ देवकोटाले ढुङ्गा सङ्कलन गरेको विषयमा वडा कार्यालय लाई जानकारी नभएको बताए । गत आर्थिक वर्षमा नगरपालिका ले अमानत मा २ सय ६५ वटा पुर्जी काटेको त्यस बाहेक के कसरी त्यति धेरै परिमाणमा ढुङ्गा सङ्कलन भएको हो आफूलाई जानकारी नभएको वडा अध्यक्ष देवकोटा बताउँछन् ।

दुई सय ६५ वटा पुर्जीको उक्त ढुङ्गा को नगरपालिकाले स्टक प्रमाणित समेत गरेको छैन । अहिले सो ढुङ्गा व्यवसायीले राति राती अन्यत्र लैजान थालेका छन् ।

रौतहटमा २०६७ सालदेखि  चुरे संरक्षण का लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा छन् । करोडौँ रकम संरक्षणका नाममा खर्च भएका छन् । चुरे संरक्षण को नाममा बर्सेनि करोडौँ रकम विभिन्न योजना बनाएर खर्च गरे पनि प्रभावकारी काम हुन नसकेको गुनासो बढेको छ ।

चुरे क्षेत्रको ढुङ्गा निकासी नियन्त्रण गर्न पटक पटक आवाज उठे पनि जिल्ला प्रशासन कार्यालय, डिभिजन बन कार्यालय,जिल्ला समन्वय समिति रौतहट तथा चन्द्रपुर नगरपालिकाले ठोस कदम नचाल्नुले सबैको मिलेमतो र पैसाको चलखेल रहेको स्थानीयको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ