arrow

किसानको अनुदान माओवादी नेतृदेखि मेयर पत्नीलाई, स्थानीय विरोधमा

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ फागुन १ आइतबार
belbari-kisan.jpg

रामपुर , कञ्चनपुर । केन्द्र सरकार र प्रदेश सरकारले किसानका नाममा बेला बेला दिइने अनुदान रकम वास्तविक किसानको हातमा नभई टाठा बाठा ब्यक्तिका नाम छनौट भएको  यतिबेला कंचनपुरको बेलौरीमा चर्चामा आएको छ । 

बेलौरी नगरपालिका वडा नम्बर ५ रामपुरमा प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम अन्तरगत २५ जना व्यावसायिक बाख्रा पालन किसानलाई दिइनु पर्ने अनुदान राजनीतिक पहुँचका आधारमा आफन्त र नातागोतालाई दिइए पछि वडावासीले विरोध गरेका छन् ।

एउटा मात्रै बाख्रा पालेका व्यक्तिले अनुदानमा छनौट भए पछि स्थानीय किसानहरूको आक्रोश देखिएको हो । आवेदन दिएका वास्तविक किसानलाई छनौटमा नपारी पावरवाला आफ्नै पार्टी कार्यकर्ता र आफन्तलाई अनुदानमा छनौट गरिएको काम गलत भएको र तत्काल रद्द गरिनुपर्ने स्थानीय धनी चन्दले बताइन् ।

किसानका नाममा आएको अनुदान जनप्रतिनिधिले आफन्तलाई दिइनु बेइमानी भएको स्थानीय वीरसिंह साउदले बताए । अनुदानका लागि स्वच्छ रूपमा छनौट नगरी दलगत र आफन्त हेर्नू वडा कार्यालयका  जनप्रतिनिधि हरूको गलत काम भएको स्थानीय राजेन्द्र चन्दले बताए । 

को-कसको नाम छनौट गरियो त ?
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दीपा चौधरी , बेलौरी नगरपालिका का मेयर पोतिलाल चौधरी कि पत्नी सुस्मिता चौधरी , कार्यवाहक वडा अध्यक्ष कृपाराम चौधरीको आफ्नै नाम , मेयरका स्वकीय सचिव जयबहादुर कुँवर कि भाउजू र आमाको नाम , नगरपालिकाका कम्प्युटर अपरेटर रबिलाल डङौरा , र मेयरका पूर्व स्वकीय सचिवको बुबा लगायतका व्यक्तिहरू लाई मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम अन्तर्गत आएको अनुदानमा छनौट गरिए पछि वडावासीले व्यापक विरोध गरेका छन् ।

छनौट प्रक्रियामा असन्तुष्ट बनेका स्थानीय वडावासीहरूले शुक्रवार उक्त छनौट बदर गरिनु पर्ने माग सहित वडा कार्यालयमा निवेदन दिएका छन् ।

मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम अन्तर्गत आएको अनुदानका लागि किसानहरूको छनौट प्रक्रियामै त्रुटि देखिएको वडा अध्यक्ष साइतु कुमार चौधरीले बताए । उनले भने त्यो छनौटका दिनमा आफू काम विशेषले बाहिर भएकाले आफूलाई जानकारी नभएको बताए । 

मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम अन्तर्गत आएको अनुदानका लागि किसानहरूको छनौट गरि वडाले पालिकामा सिफारिस गरेको कार्य विवादित भएपछि पुनः छनोट गर्ने तयारी गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. पानसिंह ठगुन्नाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ