arrow

गृह जिल्ला पुगेर मन्त्रीले भने - राष्ट्रघातीलाई जनताले कारबाही गर्नेछन्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
mantri-athak.PNG

बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आगामी निर्वाचन मार्फत जनताले प्रतिगमनकारी तथा राष्ट्रघातीहरूलाई कारबाही गर्ने बताएका छन् । २७ औं जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुन गृह जिल्ला बाँके आएका मन्त्री अथकले जनताको आन्दोलनबाट प्राप्त उपलब्धि भत्काउन देशभित्र र बाहिरका प्रतिक्रियावादी लागिपरेको भन्दै जनताले त्यस्ता तत्त्वहरूलाई निर्वाचन मार्फत कारबाही गर्ने बताए । 

देशमा अहिले पनि गम्भीर प्रतिक्रान्ति र राष्ट्रघातका खतराहरू मडारिरहेको उल्लेख गर्दै मन्त्री अथकले भने, “नेपाली जनता त्यो महान् जनता हो जसले सयौँ वर्षको राजतन्त्र समाप्त गरेर आफ्नो शासन व्यवस्था आफैले रोजेको हो, तसर्थ राजनीतिका नाममा गरिने तमाम खालका हर्कतहरु चिर्न नेपाली जनता सक्षम छन् ।”

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका मन्त्री अथकले महान् शहीदहरूको बलिदानबाट प्राप्त व्यवस्था माथि व्यवस्था विरोधी तत्त्वले हालीमुहाली गरिरहेको बताए । गणतन्त्रका विरोधीहरूले परिवर्तनको नेतृत्व गरेको माओवादी माथि ज्यादती गर्न खोजिरहेकाले जनता जागरूक हुनुपर्ने अवस्था आएको बताउँदै मन्त्री अथकले आफ्नो अधिकार प्राप्तीकालागी गणतन्त्र पक्षधरहरू पुनः एकजुट हुनुपर्ने बताए । 

जनयुद्धको बलमा सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व सहितको गणतन्त्र स्थापित गर्ने माओवादी संसारका कुनै पनि प्रतिक्रियावादीको अगाडी नझुक्ने बताउँदै मन्त्री अथकले राष्ट्रिय हित, स्वाधीनता, प्रतिष्ठा र जनताको सर्वोपरि हितका लागि सदैव लागिपर्ने समेत प्रस्ट पारे ।

नेकपा माओवादी केन्द्र राप्तीसोनारी गाउँ कमिटीद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री अथकले ७० जना सहिद तथा बेपत्ता परिवारका सदस्यहरूलाई सम्मान गरेका थिए । 

नेकपा माओवादी केन्द्र राप्ती सोनारीका अध्यक्ष चिम बहादुर घर्तीको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्ने दुई दर्जन बढीलाई मन्त्री अथकले स्वागत गरेका थिए ।



नयाँ