- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धरान । नेपाली कांग्रेसले पार्टी सङ्गठन सशक्तीकरण र सुदृढीकरण अभियान वडा वडामा गर्न शुरु गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. १, सुनसरीले क्षेत्र नं. १ अन्तर्गत पर्ने रामधुनी नगरपालिकाको वडा नं. ७ वाट अभियानको शुरुवात गरेको हो ।
कार्यक्रममा क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी सङ्गठनको सशक्तीकरण र सुदृढीकरण अभियान मार्फत कांग्रेस जनजनमा जागरण ल्याउन र सङ्गठन विस्तारमा टेवा पुर्याउने उद्देश्यले अभियान वडागत रूपमा सञ्चालन गरिएको बताए । उनले सङ्गठनलाई मर्यादित, अनुशासित बनाउने तथा जनता र कार्यकर्ताप्रति पार्टीका स्थानीय नेतृत्वलाई जबाफदेही र उत्तरदायी बनाउँदै जनअपेक्षा र कार्यकर्ताको भावना बमोजिम पार्टी गतिविधि गर्न तथा पार्टी र भातृ एवम् शुभेच्छुक संस्थाहरूलाई गतिशील बनाई सङ्गठनलाई विस्तार गर्न र चुस्तदूरुस्त राख्न अभियानले सहयोग पुग्ने विश्वास लिएको बताए ।
क्षेत्रीय सभापति तथा प्रदेश १(२) का सभापति मुरारी भट्टराईले पार्टीका नेता कार्यकर्ताहरूको बोली व्यवहार सभ्य हुनुपर्ने, लोभ लालचमा नपर्ने भन्दै आगामी स्थानीय तहको निर्वाचनमा आफुले टिकट पाउँदा मात्र खट्ने मनस्थिति हुनु नहुने र टिकट वितरण गर्दा नेतृत्व चुक्नु नहुने बताए । उनले रामधुनी ७ को पञ्चायानमा शान्ति सुरक्षाका लागि प्रहरी चौकी स्थापना गर्नुपर्ने बताए ।
रामधुनी नगर सभापति सुदिप अधिकारीले विगतमा माथिल्लो तहका पार्टी नेतृत्व वडा वडामा नआउँदा कांग्रेसको सङ्गठन खस्केको बताए । उनले एमसीसी लगायतको राष्ट्रिय मुद्दामा कांग्रेस स्पष्ट हुनुपर्ने बताए ।
महाधिवेशन प्रतिनिधि ममता तामाङले केन्द्रीय नेताले हरेक मुद्दाहरूमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने बताए ।
पूर्व जिल्ला सदस्य रामराज महतले पहिलो पटक पार्टी नेताहरू यसरी शुद्धीकरणको कार्यक्रम लिएर वडा वडामा आएको भन्दै यस्ता कार्यक्रमहरूले निरन्तरता पाउनुपर्ने बताए । उनले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौट गर्दा पैसाको आधारमा नभई लोकप्रियता, क्षमता, इमान्दारीता र योगदानको आधारमा छनौट गर्नुपर्ने बताए ।
क्षेत्रीय सचिव केशव पुरीले कार्यकर्ताको सही मूल्याङ्कन गरी अवसर प्रदान गरिनुपर्ने बताए ।
प्रदेश प्रतिनिधि सरिता चौधरीले सङ्गठन गर्नुका साथसाथै टोल र बस्तीका जनताहरूको समस्या समेत पहिचान गरी त्यसको समाधान गर्न पहल गर्नुपर्ने बताइन् । उनले बक्लौरी १ र २ खानेपानीको अभाव रहेको र खोला नियन्त्रणमा ध्यान नपुगेको बताइन् ।
रामधुनी ७ का वडा सभापति जगतबहादुर राईले पार्टी नेतृत्वहरू गाउँ बस्तीमा आउँदा आफूहरूलाई हौसला र ऊर्जा मिलेको भन्दै गठन गर्न बाँकी टोल समितिहरू गठन गर्ने, भातृ तथा शुभेच्छुक संस्थाहरूलाई चलायमान बनाउने, वडाका बस्तीहरूमा घुम्ती बैठक बस्ने, नियमित रूपले बैठक बस्ने र विविध कार्यक्रमहरु गरिने बताए । स्थानीय विकास निर्माणका योजनाहरू लिएर डेलिगेशन जाने समेत उनले बताए ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण तथा सञ्चालन क्षेत्रीय सहसचिव सुमित राईले गरेका थिए भने टिपोट क्षेत्रीय सहसचिव भोजराज न्यौपानेले गरेका थिए ।