arrow

'ओली एमसीसीको विपक्षमा जानै सक्दैनन्,  प्रचण्ड र नेपाल आफ्नै जालोमा फसे'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
ramchandra-poudel8.jpg

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओली एमसीसीको विपक्षमा उभिनै नसक्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  दाबी गरेका छन् । देश एमसीसीको तापमा परेको बेला वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् ।

 पौडेलले भने,‘ओलीजी एमसीसीको विपक्षमा जानै सक्नुहुन्न । कसरी जानुहुन्छ ? हामी हेर्छौँ । एमसीसी संसद्मा गएपछि हामी उहाँको अग्निपरीक्षा हेर्छौँ । ओली विपक्षमा जानुभयो भने उहाँको राजनीतिक विश्वसनीयता समाप्त हुन्छ । किनभने उहाँ नै होइन, एमसीसी सांसदबाट पास गर्छौँ भनेर निर्णय गराउने मान्छे ? अनि किन त्यस्तो गराएको त ? नेपाली जनतालाई धोका दिन हो त ? आएको अनुदान फर्काउनको लागि केपी ओलीले षड्यन्त्र गरेको हो त ? यदि उहाँ विपक्षमा जानुभयो भने षड्यन्त्र गरेको साबित हुन्छ ।’

नेता पौडेलले  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीको विषयमा भ्रममा परेको बताएका छन् । पौडेलले एमसीसीको विषयमा देश र जनतालाई धोका दिनेगरि कसैले पनि ‘डबल-स्ट्याण्ड’ को भूमिका खेल्न नहुने टिप्पणी गरे । 

उनले भने-‘प्रचण्ड र माधव नेपाल एमसीसीलाई लिएर भ्रमको जालोमा जेलिएका छन् । कम्युनिष्टका नेताहरू जेलिएका छन् । उहाँहरू प्रचारको जालोमा जेलिनुभयो। एमसीसीको सुरुवात स्वयम झलनाथजीबाट भएको हो । यो एमसीसी सम्झौता सत्तामा पुगेका कुनै पनि कम्युनिष्ट नेता यो सम्झौताबाट अलग छैनन् । उहाँहरू सबै संलग्न हुनुहुन्छ । सबै नेता पालैपालो संलग्न हुनहुन्छ । यो सुरुमा संसद्बाट अनुमोदन गर्ने कुरा थिएन । केपी ओली प्रधानमन्त्री बनेपछि संसद्बाट पारित गर्नुपर्छ भन्ने बनाउनुभयो । अमेरिकाको यो संसद्बाट पास गर्नुपर्छ भन्ने कुनै दबाब थिएन । यसलाई संसद्मा लैजान्छु भनेर उहाँले त्यसो गर्नुभयो । अहिले एमाले त्यो अनुमोदन गर्नबाट पछि हट्न मिल्छ ? एमसीसी हुन्न भन्ने कुरा यो देश र सारा दुनियाँलाई धोका हो कि होइन ? यसको परिणाम के हुन्छ ? नेपालको राजनीतिक अवस्था र अर्थतन्त्र कहाँ पुग्छ ? आज दातृ निकायहरूलाई हामी विरुद्ध पुर्‍याउने काम पनि हुन्छ, म समाजवादी हो । म नेपालवादी हो। यस्तो किसिमको फट्याँई मलाई मन पर्दैन । डबल स्ट्याण्ड कसैले पनि नगरौँ।’

उनले अब देशको विकास गर्नेगरि सबै दल जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्ने धारणा राखे । उनले भने,‘देशको विकास गरौँ । नेताहरूले विकास नअलमल्यायौं । सधैँ नेपाल गरिबी रहनुपर्ने ? विद्युत् त देशको विकास गर्ने माध्यम हो । देशको विकासलाई अवरोध नगरौँ । कुनै कम्युनिष्ट नेता पनि अलग हुन पाउँदैनन् । जनतालाई भ्रम पारिएको छ । यो देशविरुद्ध अन्याय र बेइमानी हो नि । यहाँका कम्युनिष्टले भ्रम छरे । मुलुकको हितको लागि ठोस काम गर्नुपर्छ नि । भ्रमको कुहिरोमा सधैँ देशलाई डुबाई राख्ने ?’

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहेका नेता पौडेलले प्रचण्ड र माधव नेपाल एमसीसीबारे भ्रमको जालोमा फसेको जिकिर गरे । उनले भने-‘सुरुमा एमसीसी ल्याउनमा प्रचण्ड र माधव नेपाल आफै लाग्नुभयो । पछि क-कसले कुन-कुन सूत्रबाट यसको विरुद्धमा जानुपर्छ भन्ने कुरा आयो, त्यो कुरा आएपछि उहाँहरूले आफ्नो  तर्क शक्ति एमसीसी खराब हो भन्नेमा खर्च गर्नुभयो । उहाँहरू अहिले माकुरा आफ्नो जालोमा फसेजस्तो फस्नुभयो । उहाँहरू आफैले फैलाएको झुटो अफवाहको जालोमा आफै अल्झिनुभएको छ। मैले त जानेको कुरा यत्ति हो ।’

उनले आफू त सबैसँग सहकार्य गरेर जाने व्यक्ति भएको पनि उल्लेख गरे । ‘उहाँहरू प्रचण्ड र माधवजी परिवर्तनको पक्षमा उभिनुभएको छ। सकारात्मक दृष्टिकोण पाएको हुनाले म उहाँहरूसँग उभिएको पनि छु । अहिले उहाँहरू नचाहिने कुरामा फस्नुभएको छ, म उहाँहरूलाई त्यहाँबाट उद्धार गर्न चाहन्छु ।’

उनले आफ्नै पार्टीभित्र पनि एमसीसीबारे जनतालाई बुझाउनको लागि पर्याप्त भूमिका नखेलिएको गुनासो पोखे । उनले थपे-‘मैले मेरो पार्टीभित्र पनि एमसीसीलाई लिएर जनतामा बुझाउनुपर्छ भनेको छु, , संयन्त्रभित्र पनि यही कुरा उठाएको छु, पार्टी सभापति एवम् प्रधानमन्त्रीलाई पनि भनेको छु-तपाईँका महामन्त्री नबोल्ने ? मन्त्रीहरू नबोल्ने ? जनताको बीचमा यो कुरा लान नसक्ने भनेर भनेको छु, एमसीसी मेरो काँधमा मात्रै थुपार्न हुँदैन भनेर पनि देउवाजीलाई भनेको छु । मैले हाम्रा नेताहरूलाई यसको पक्षमा बोल भनेको छु । कांग्रेसका नेताहरूले एमसीसीबारे स्पष्ट कुरा जनताको बीचमा ल्याउनुपर्छ ।’

उनले एमसीसी सदनमा लैजानुभन्दा अघि नै जनतालाई सही कुरा बुझाउनुहोस् भनेर पनि आफूले प्रधानमन्त्री देउवालाई भनेको स्मरण गराए । उनले भने,‘एमसीसीबारे यो यथार्थ हो भनेर जनतालाई भन्नुहोस् भनेको छु, हाम्रो पार्टीका नेताहरू स्पष्ट रूपमा उभिनुपर्छ । आफ्नो पक्षमा सही ढङ्गले उभिनुपर्छ, एमसीसी पास गरिदिऊँ, लागु गरिदिऊँ अनि यसबारे भ्रम आफै मेटिन्छ भन्ने देउवाजीको भनाई छ, तर, आफ्नो कुरा जनतालाई भन्नुपर्छ । अल्छी गर्नु हुँदैन ।’ 

उनले एमसीसीको अनुदान लिनु भनेको र्याल चुहाउने कुरा नभएको भन्दै पत्रकारको प्रश्नमा प्रतिवाद गरे । उनले भने,‘अमेरिका यहाँ आइरहेको होइन, एउटा कम्पनी बनेर खोलेर राज्य बनाउन लागिरहेको छैन । बिजुली बेचेर पैसा कमाऊ भनेको छ, अनुदान दिएको हो । हामीले नै अनुदान चाहियो भनेर भनेको हो । अहिले लिनुपर्छ । फेक प्रचार गरेर उसलाई ईब्यारेसिङ गर्ने काम गर्नुहुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ