- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले एमसीसी र विआरआइजस्ता वैदेशिक सहयोग राष्ट्रहितमा रहेको बताएका छन् ।
एमसीसी सहयोग नेपालले लिन असहयोग गरेमा नेपालमा उत्पादन गरेको विद्युत् अबको पाँच वर्षमा खोलामा फाल्नु पर्ने अवस्था आउन्न सक्ने कुराको सङ्केत गर्दै बरालले नेपाल जस्तो विकासोन्मुख राष्ट्रले एमसीसी सहयोग लिनुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस पोखरा महानगर पालिका ६ ले बुधबार आयोजना गरेको टोल कार्यसमिति गठनसहित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा नेता बरालले अरुण तेस्रो आयोजना फिर्ता पठाउँदा नेपालीले १० वर्ष लोडसेडिङ मार खेपेर अँध्यारोमा बस्नु परेको कुराको स्मरण गराउँदै राष्ट्र हितमा आउने वैदेशिक सहयोगलाई अनर्गल प्रचार नगर्न आग्रह गरे ।
नेपाली कांग्रेस कास्कीका सचिव शकर ढुङ्गानाले आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी टोल कार्यसमितिलाई आवश्यक रणनीति बनाएर काँग्रेसका उम्मेदवारलाई विजय बनाउन निर्देशन दिए ।
पोखरा महानगर पालिका वडा नं. ६ का अध्यक्ष जगतबहादुर पहारीले स्थानीय तहमा नेपाली काँग्रेसको विजय सुनिश्चित गर्न नयाँ रणनीति बनाउन जरुरी रहेको बताए ।
महाधिवेशन प्रतिनिधि हिरा भट्टराईले नेपाली कांग्रेसले कार्यकर्तालाई उद्यमी बनाइ उद्यमशीलता सँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
बैदामका इकाइ सभापति सन्तोष पौडेलले अग्रजहरूले देखाएको बाटोमा हिँड्न सके मात्र कांग्रेसको भविष्य उज्ज्वल रहेको बताए ।
टोल सभापति जीवनाथ गौतमको सभापतित्वमा भएको कार्यक्रममा ज्येष्ठ सदस्य होमनाथ पहारी, सल्लाहकार तथा पूर्व वडाध्यक्ष होमबहादुर लामिछाने, टोल सभापति रवीन्द्र कुँवर, विकास लामिछाने, सल्लाहकार तेजनारायण पराजुली लगायतले बोलेका थिए ।
सभापतिमा कोइराला
टोल समितिको दोस्रो अधिवेशनबाट गुरुदत्त कोइराला (रामजी) सर्वसम्मत सभापतिमा चयन भएका हुन् । टोलको उपसभापतिमा झलक सुवेदी, सचिवमा लेखनाथ भुसाल, कोषाध्यक्षमा दीपक भट्टराई र सहसचिवमा विष्णु गिरी चयन भएका छन् ।