arrow

आफूलाई बलात्कार गर्नेलाई सफाइ दिएको दुखेसो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
rajput.jpg

काठमाडौं । कुमारी आमाको नामले चिनिने महोत्तरीकी निहारिका राजपूतले आफूमाथि भएको बलात्कार मुद्दामा अदालतले आरोपितलाई सफाइ दिएकोमा आपत्ति जनाएकी छिन् । आज  रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै राजपूतले आफूलाई बलात्कार गर्ने धनुषाका शिवराज श्रेष्ठलाई सफाइ दिएर आफूमाथि अदालतले अन्याय गरेको दुखेसो पोखिन् । 

निहारिका राजपूतले राज्यले आफूलाई न्याय नदिए आत्महत्या गर्नेसमेत चेतावनी दिइन् । उनले साथीले बोलाएर घरमा गएको बेला आफूलाई जुस खुवाएर अचेत बनाएर साथीको दाजु शिवराजले बलात्कार गरेको स्मरण गराइन् । आफुले केही नखोजेको भन्दै युवकले सजाय पाएमा मात्र आफूलाई न्याय मिल्ने उनको भनाई थियो । उनले भनिन,‘मैले युवकसँग अरू केही मागेको छैन, उसले सजाय मात्र पाउनुपर्‍यो अरू केही चाहिँदैन । मेरो इज्जत त गइसक्यो, अरू के बाँकी छ र ?’ 

उनले आफू कुनै पनि हालतमा नमर्ने र सरकारलाई न्याय दिन बाध्य बनाउनेसमेत जिकिर गरिन् । उनले भनिन्,‘एउटा शिवराजलाई मार्न पाए धेरै शिवराज डराउँछन् ।’ युवकको परिवारले पहिला आफ्नो कुरा नसुने पनि अहिले भने आफूलाई स्वीकार गर्ने कुरा आफन्तले सुनाए पनि युवकसँग विवाह गर्ने पक्षमा भने आफू नभएको उनले स्पष्ट पारिन् । उनको अहिले डेढ वर्षको छोरा छन् ।

बच्चा पेटमा भएको २ महिनादेखि प्रहरी कार्यालयमा जाँदा पनि आजसम्म न्याय नपाएको उनको भनाई थियो । बल्लबल्ल ३ महिनापछि मात्र प्रहरीले मुद्दा दर्ता गरेको र मुद्दा दर्ता भएपछि केटा फरार भएको उनले बताइन् । 

उनले डेढ वर्षपछि भदौमा आरोपित युवा पक्राउ परे पनि जिल्ला अदालत धनुषाले सफाइ दिएको भन्दै आपत्ति जनाइन् । ‘ममाथि अन्याय भएको छ, म कलङ्कित भएको महसुस गरेको छु ।’–उनले भनिन् । 

महिलाको न्यायको निम्ति बनेको आयोग महिला आयोगले आफूलाई सहयोग नगरेको पनि उनको गुनासो छ। उनले भनिन्,‘महिला आयोगले आफूलाई पटक–पटक बच्चा फाल्न भनेको थियो, तर मैले मानिनँ ।’ अब राज्यले आफू र बच्चाको ज्यानको सुरक्षा र पीडकलाई कारबाही गरे आफुले न्याय पाएको महसुस हुने उनको भनाई थियो । 

उनले आफूलाई बलात्कार गर्ने युवक प्रेमी नभएको पनि स्पष्ट पारिन् । बेहोस बनाएर बलात्कार गरेको र आफू होसमा आउँदा जिउमा लुगा नभएको पाएको समेत उनले सुनाइन् । उनले भनिन्,‘आफ्नो ज्यानमा कपडा नदेखेपछि म चिच्याएर कराउँदा मेरो नाङ्गो फोटोहरू देखाएर धम्काएपछि म डराएँ ।’ यसमा युवकको बहिनीको पनि मिलेमतो भएको उनले जिकिर गरिन् । 

निहारिकाले डिएनए टेस्ट गर्न पनि युवक नमानेको सुनाइन् । युवकले आफूलाई धम्काएको सबै प्रमाणहरू सुरक्षित रहेको पनि उनको भनाई छ । उनले अदालतले भने उक्त मुद्दामा ‘युवक र युवतीको मिलेमतोमा भएको शारीरिक सम्बन्ध’ भनेर केटाले सफाइ पाएकोमा दुःख व्यक्त गरिन् । उनले भनिन्,‘धनुषा अदालतका न्यायाधीश परशुराम भट्टराईले युवकलाई सफाइ दिएका हुन् ।’

उनले आफ्नो पक्षमा न्यायको लागि बोल्ने कोही नभएको भन्दै गुनासो पोखिन् । उनले भनिन्,‘पैसा, बाइक चोरी गरेको र लागु औषधको मुद्दामा पनि युवकमाथि मुद्दा चलेको रहेछ, मलाई यो कुरा पछि थाहा भयो ।’ परिवारले आफूलाई घरमा लगेमा समुदायबाट वञ्चित गर्ने भनेपछि आफ्नो जन्मघरमा पनि नगएको भन्दै उनले दुःख पोखिन् ।  

कार्यक्रममा बोल्दै अधिकारकर्मी सावित्री सुवेदीले निहारीकाले न्याय नपाउनु दुःखद भएको भन्दै उनको माग सुनुवाइ गर्न सरकारसमक्ष आग्रह गरेकी छिन् । निहारिकाले न्याय नपाए अबको विकल्प आत्महत्या मात्रै भएको भन्नुले पनि निहारिका कति पीडामा र तनावमा छिन् भन्ने कुरा दर्साएको सुवेदीले उल्लेख गरिन् । 

उनले भनिन,‘अब उनको जाने ठाउँ छैन, कुनै पनि महिलाले न्याय नपाउने देश हो नेपाल ।’ योगमायाले महिला अधिकारको लागि लडेको धेरै भए पनि आजसम्म न्याय नपाएको स्मरण गराउँदै उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पीडित महिला भएर सोच्न आग्रह गरिन् । उनले भनिन्,‘कहिलेकाहीँ महिलाको बारेमा पनि सोच्ने गर्नुहोस्, खाली भत्ता पचाउने र तलब खाने मात्र काम नगर्नुहोस् ।’ 

यदि निहारिकालाई सरकारले न्याय दिन नसक्ने हो भने गोली ठोक्न पनि सुवेदीले आग्रह गरिन् । उनले महिलालाई पुरुषले यौनको साधन रूपमा मात्र प्रयोग गर्ने गरेको आरोप पनि लगाइन् । सुवेदीले निहारिकाको न्यायको लागि आफू विगत २ वर्षदेखि लागेको पनि जानकारी दिइन् । देशभरिका अधिकारकर्मीले निहारिकालाई सहयोग गर्नुपर्ने उनले धारणा राखिन् । उनले भनिन,‘एउटा कुमारी आमालाई सरकारले न्याय दिनुपर्छ र न्याय नपाएमा उनलाई धेरै गाह्रो हुन्छ ।’



नयाँ