arrow

नेपाल र श्रेष्ठसँगको भेटपछि प्रचण्डले भने- एमसीसीबारे कसरी निकास दिने भन्नेमा नै केन्द्रित छौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
pmprachandadahal.jpeg

काठमाडौं । सत्तारुढ दलका गठबन्धनको बैठक अगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । 

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । 

उनीहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनलगायतका विषयमा परामर्श भएको थियो । 

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनलाई जोगाएर एमसीसीलगायतका विषयलाई निष्कर्षमा लैजानेबारे कुराकानी भएको जानकारी दिए । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । सोही बैठकको तयारीका लागि आफूहरुले छलफल गरेको जानकारी दिँदै अध्यक्ष दाहालले भने, “हामी गठबन्धनलाई कसरी बचाउने र एमसीसीबारे कसरी निकास दिने भन्नेमा नै केन्द्रीत छौँ ।” 

उनले पाँच दलको बैठकमा छलफल गरेर एउटा निष्कर्ष निकाल्नेमा नै जोड रहेको बताए । अध्यक्ष दाहालले आफूहरु गठबन्धनलाई जोगाएर अन्य विषयमा सहमति गरौं भन्ने मनसायमा रहेको बताए । 

बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेताहरुले धेरै बोलेर कुरा बिग्रेको भन्दै आफूले अहिले केही पनि नबोल्ने प्रतिक्रिया दिए । रासस



नयाँ